अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूप्रति मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण

बिआरटीनेपाल २०७४ फागुन २८ गते ३:१५ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको वृद्धि हुँदै गएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आयोजले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै देशमा पछिल्लो समय दिन प्रतिदिन यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूमा वृद्धि हुँदै गएको अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ:
आयोगको अनुगमन तथा सञ्चार माध्यमहरूबाट प्राप्त जानकारी अनुसार गत मङ्सिर महिना देखि हाल सम्म करिब दर्जन महिला तथा बालिकाहरू यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडित भएको बुझिएको छ । नेपालको संविधानले यौनजन्य हिंसालाई कानुन बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै यी घटनाबाट पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेको छ । तर व्यहारमा सामूहिक बलात्कारको घटना समेतलाई सामाजिक वा पारिवारीक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलाप गराइनु र बलात्कार जस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनामा संलग्न दोषीहरूलाई प्रभावकारी कारबाही नहुनुले पीडितहरू न्यायबाट वञ्चित हुने गरेको देखिन्छ ।

घटनाको सम्बन्धमा केही सञ्चार माध्यमबाट पीडितको पहिचान हुनेगरी तस्वीर सहितको समाचार प्रकाशन गरिनुले पीडितको गोपनियताको अधिकारमा गम्भीर असर पर्न गएको देखिन्छ । अतः यसतर्फ सचेत रहँदै समाचार प्रकाशन गर्न र संवेदनशीलता अपनाउन आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ । साथै बलात्कार लगायत अन्य हिंसा पीडितको तस्वीर सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढ्दो छ, यसबाट पीडितमा पर्न जाने असरबारे सचेत हुन सबै पक्षमा आयोग आग्रह गर्दछ ।

हिंसा पीडित महिलाहरू न्यायका लागि पहल गर्ने क्रममा स्थानीय प्रशासन, प्रहरी र सरकारी वकीलको कार्यालयहरूले संवेदनशील भई न्यायिक प्रक्रिया अगाडि बढाउन आयोग विशेष आग्रह गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू