अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

तस्करविरुद्धको अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई गृहमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७४ फागुन २७ गते ८:५२ मा प्रकाशित

काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले सुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले देशमा अशान्ति कायम गर्ने अपराधी र अर्थतन्त्रलाई तहसनहस पार्ने तस्करविरुद्ध मन्त्रालयले कडा नीति अख्तियार गर्न सुरु गरेको भन्दै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “त्यस्ता अपराधी र तस्करविरुद्ध तपाईँहरूले सञ्चार माध्यमबाट समेत सूचना दिनुहोस्, मन्त्रालयले प्रशासनिक ढङ्गबाट तिनीहरुविरुद्ध कारबाही गर्छ ।”

उहाँले सुरक्षा निकायदेखि उद्योगी, व्यवसायी, प्रशासन हरेक क्षेत्रमा केही गलत गतिविधिमा संलग्न केही व्यक्तिका कारण ती निकाय नै बदनाम भएको भन्दै त्यस्ता व्यक्तिको पहिचानमा मन्त्रालय लागेको बताउनुभयो । 

तस्करका कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्न भन्सार छली गर्ने र हुन्डीको कारोबार गर्ने विरुद्ध निर्ममतापूर्वक मन्त्रालयले अभियान चलाउने गृहमन्त्री थापाको भनाइ छ । उहाँले भन्नुभयो, “एउटा कम्पनीले रु ४७ अर्ब सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन, केही कम्पनीले कर नतिरी मिनाहाका लागि नेताको घर चहार्दैछन् । त्यो पैसाले जलविद्युत्मा लगानी गरेको भए सयौँ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो ।”

उहाँले सुरक्षा संयन्त्रको संंरचनामा व्यापक परिवर्तन आवश्यक रहेको भन्दै त्यसका लागि काम सुरु गरिने जानकारी दिनुभयो । गृहमन्त्रीका रूपमा जनताले राहत महसुस गर्ने गरी आफूले काम गर्ने उहाँको भनाइ छ । प्रहरीको आवासगृहदेखि वृत्ति विकाससम्मका कामलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू