अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 07:41

न्यु योर्क देखी युगाण्डामा रक्तदान

अर्जुन प्रसाद मैनाली २०७४ फागुन २६ गते १८:३५ मा प्रकाशित

धेरै जनाले मलाई सोध्ने गर्छन्, ‘के कारणले तपाईँ यसरी विश्वब्यापी रूपमा रक्तदानमा लाग्नु भएको हो? मुख्य कुरा त आवश्यक पर्दा संसार भरिका हरेक स्वस्थ व्यक्ति रक्तदान गर्न सकुन् भन्ने सन्देश दिनु नै हो । नेपालको काठमान्डौबाट सुरु गरेको मेरो रक्तदान अभियान अहिले संसार भरी पुगेको छ । उहिले सन्तानले डाँडा काँडा ढाकुन् भन्ने आशीर्वाद दिन्थे रे । त्यस्तै मेरो रगतले विश्वका विभिन्न ठाउका बिरामीहरूलाई पुनर्जीवन पाउन सहयोग भएको छ । मेरो रगतले बाच्ने ती सबै मेरै सन्तान जस्तै भए नि त । अर्को कुरा विश्वमा बिरामीहरू बचाउन म जहाँ पनि पुगेर आफ्नै रगत दिन सक्छु भन्ने नै हो । विश्वका विभिन्न ठाउँमा समयमा रगत उपलब्ध नभएर धेरैले जीवन गुमाएका छन् । पुरै विश्वमा हरेक बिरामीले तत्काल रगत पाउन भन्ने मेरो इच्छा रहेको छ । 

विश्वमा मानबजाती हरेक कुराले सुरक्षित र स्वस्थ रहुन् भन्ने चाहना छ । त्यसैले मैले विश्वका कुना कुनामा पुगेर बिरामीहरूका लागि पटक पटक रक्तदान गर्ने गरेको छु । मेरो आफ्नै रगतले धेरैले पुनर्जीवन पाएका छन् । ‘मैले अरूलाई किन आफ्नो शरीरको रगत दिने?’, ‘रगत दिँदा म आफै कमजोरी वा बिरामी पो हुने हो कि’ भन्ने मनमा डर लिने धेरै जना छन् । जो कोहीलाई पनि भविष्यमा रगत आवश्यक पर्न सक्छ । त्यस्तो अवस्थामा एउटा स्वस्थ व्यक्तिले मात्र रगत दिन सक्छ । त्यो रगतले एउटा मृत्युको मुखमा पुगेकालाई बचाउन सकिन्छ भन्ने धेरैमा बुझाउन सके । यसमा म धेरै खुसी छु । रक्तदान कार्यमा म सँगै विश्वका अन्य नेपाली समुदायलाई पनि लिएर हिँड्न सके । मसँग विश्वको कुनै पनि ठाउँमा आफ्नै साधन श्रोतले रक्तदान सम्बन्धी कार्यमा पुग्न सक्ने, रक्तदान गर्न सक्ने र रक्तदान उत्प्रेरणा गराउन सक्ने असाधारण क्षमता छ । त्यसैले म विश्वब्यापी रूपमा रक्तदान अभियानमा लागि रहेको छु । रक्तदान पुण्यकारी कार्य पनि हो । मानव कल्याणको लागि मेरो सम्रर्पण र धैर्यताले मात्र यत्तिका कार्य गर्न सकेको हु । एउटा व्यक्तिले कतिसम्म योगदान गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेको छु । 

अन्त्यमा, जीवनमा कमाएर थुपार्ने कुरा केही रहेनछ भन्ने मेरो बुझाई रहेको छ । हामीले स्वस्थ रहँदै समुदायमा पुर्‍याउन सक्ने योगदान नै ठुलो कुरा रहेछ । तीमध्ये रक्तदान सबभन्दा ठुलो पुण्यकारी कार्य रहेछ । यसको महिमा कुनै शब्दमा व्यक्त गर्न सकिँदैन । यो अनुभव गर्ने कुरा रहेछ । अनुभूति गर्ने कुरा रहेछ ।

मैले रक्तदान गर्ने गरेका महादेशमद्धे अफ्रिकाका अधिकाम्स देशका जनताहरू गरिबी, भोक, रोग ब्यादले पीडित छन् । त्यहाँको स्वास्थ्य अवस्था त झनै दयनिय नै छ । विश्वका विभिन्न देशबाट अफ्रिकामा सहयोग गर्ने गरेका छन् । प्रकृतिबाट ठगिएको ठाउँमा जति सहयोग गरे पनि कम नै हुँदो रहेछ । एउटा मानवताको हैसियतले सकेसम्म सहयोग गरी रह्नु ठुलो कर्तव्य हो । त्यसबाट म पनि अलग हुन सकिन । म नियमित रक्तदाताको हैसियतले त्यहाँ गएर रक्तदान गरेर कम से कम एक जनालाई मात्र भए पनि बचाउन जति खेर पनि सक्थे । मेरो चाहना त्यहाँको युवाहरूलाई रक्तदान गर्न उत्प्रेरीत गर्नु थियो । नियमित रक्तदान गराउन प्रयास गर्नु पनि थियो । हामी नेपालीहरूको रगतले यूगान्डानलाई बचाउँदा त्यहॉका सरकारले ‘राम्रो काम गर्नु भएकोमा धन्यवाद नेपालीहरू’ भनुन् भन्ने मेरो चाहना छ ।

त्यसैले एउटा बृहत् रक्तदान कार्यक्रम आयोजना गरी रगत सन्कलन गराउन योजना बनाए । त्यहाँ नेपाली बारे खोजतलास गरे । पुरै अफ्रिकामा करिब ५ हजार जति नेपालीहरू छन् रे । युगान्डामा मात्रै २०० जति नेपाली रहेछन् । त्यहाँका नेपाली समुदायका तत्कालीन अध्यक्ष जीवनाथ पङेनीलाई जनवरी ११, २०१४ रक्तदान गर्ने बारे कुरा राखे । बरु तपाईँहरूलाई हौसला प्रदान गर्न म आफै पनि त्यहाँ आएर रक्तदान गरौला भने । त्यही दिन नै ब्लड डोनर्स अफ अमेरिकाको तत्कालीन कार्यसमितिलाई विश्वका अरू देशहरूमा पनि रक्तदान बढाउन २ वर्षको अवधिमा कम्तीमा ५ वटा देशमा रक्तदान र संस्था सहभागिताको लागि पाँच छ हजार डलर खर्च हुन सक्ला भन्ने प्रस्ताव गरे। तर कुनै जवाफ पाइन । तर म पछि हटिन । व्यक्तिगत रूपमै अगाडि बढी रहे ।

त्यसै गरी अरू नेपालीहरूमा पनि रक्तदान बारे उत्प्रेरणा गराउँदै गरे । झरेको नमानिकन रक्तदानको महत्त्व र हामीले त्यहाँका जनताहरूलाई गर्न सक्ने सेवाबारे आफ्नो कुरा पटक पटक भन्ने गरे । रक्तदान कार्यक्रम गर्न आवश्यक प्रक्रियाबारे जानकारी गराए । सेप्टेम्बर ४, २०१७ मा एन आर एन युगाण्डाका नयाँ कार्यसमितिका अध्यक्ष राजमणी भण्डारीले ‘ल आउनुहोस र रक्तदान अभियान सुरु गरौँ’ भन्नु भयो । तर आवश्यक खर्च कसरी जुटाउन सकिएला त भन्नु भयो । फेब्रुअरी ११, २०१८ को दिन आकासिया मल, कम्पलामा रक्तदान कार्यक्रम गर्ने भन्ने मिटिङ माइनुट पनि पठाउनु भयो । रक्तदान कार्यक्रम गर्न थोरै रकमले पनि काम चल्छ होला भन्ने सम्झी ३०० डलर सहयोग पठाएँ । ३ हप्ता पछि अध्यक्ष भण्डारीले रक्तदान कार्यक्रम गर्न ६ मिलियन युगाण्डा सिलिङ खर्च हुन्छ भन्नुभएपछी मैले फेरी २०० डलर थपे । मैले पठाएको सहयोग रकम त जम्मा १.८ मिलिएन मात्र भएछ । नेपाली समुदायको रक्तदान कार्यक्रम अरूलाई पनि सम्झन लायक नै होस भन्ने तरिकाले गर्न लाग्नु भएको रहेछ । मलाई पनि कार्यक्रममा विशेष अतिथिको हैसियतले उपस्थित हुन निमन्त्रणा पठाउनु भयो । 

रक्तदान कार्यक्रमको ब्यापकरुपमा प्रचारप्रसार पनि गर्‍यौ । रक्तदान नै गर्न अमेरिकन रक्तदाता आउने रे भनेर स्थानीय युवाहरू उत्साहित भएका रहेछन् । केहीले त हाम्रो गाउँमा पनि जानु पर्छ है भनेर इमेल लेखेका थिए । युगाण्डा भन्ने देशमा हरेक वर्ष औलोबाट एकहजारमा ४७८ जना बिरामी हुँदा रहेछन् । ७.२ प्रतिशत जनतामा एच आई भी रोग लागेको रहेछ । जम्मा जनसङ्ख्याको करिब ११ प्रतिशतमा विभिन्न प्रकारका बिरामी रहेछ । सन १९७१ मा बेलायती उपनिवेशबाट मुक्त भए पछि युद्धमा करिब ३ लाख जनाले ज्यान गुमाएका रहेछन् । करिब ५ लाख जति एसियनहरुलाई देश निकाला गरेका रहेछन् । युगान्डामा बिरामीहरूलाई उपचार गर्ने सन्दर्भमा करिब ३,५०,००० युनिट रगत आवश्यक पर्ने रहेछ । स्वयम् सेवी र सोधभर्नाबाट करिब २ लाख युनिट मात्रै रगत उपलब्ध हुँदो रहेछ । त्यसैले कयौँ बिरामीहरूले रगतको अभावमा जीवन गुमाउँदा रहेछन् ।

मलाई म्रिगौलामा पत्थरी भएको छ । तुरुन्तै शल्यक्रिया गर्दा युगाण्डामा रक्तदान गर्न नपाउने भए । शल्यक्रिया नगरी जाऊ त बिच बाटैमा सिकिस्तै बिरामी परिने हो कि भन्ने डर लाग्यो । अमेरिकामा रहेका नेपालीहरुमद्धे करिब १ हजार जनाको इमेल ठेगानामा कोही युगाण्डा जानुहुन्छ कि भनेर खबर गरे । हवाई जहाजको टिकट किन्न केही रकम सहयोग गरौला भने । तर कसैले पनि इच्छा देखाएनन् ।

अमेरिकामा अक्टोबर देखी अप्रिलसम्मलाई फ्लु जोखिम महिनाको रूपमा लिइन्छ । फ्लुको सुई लिएका मद्धे ९० प्रतिशत बिरामी भएका छन् । विगत ४ महिनाको अवधिमा १,२६,११७ जनाले फ्लुबाट बिरामी भई औषधी गरी सकेका छन् । फ्लुबाट एक गर्ववती महिला र अरू ५७ जना केटाकेटीहरूको मृत्यु भई सकेको छ । मैले काम गरिरहेको कार्यालयमा २६०० जना बद्धे ५० जना बिरामी भई औषधी गरी रहेका छन् । उनीहरूबाट मलाई पनि फ्लुको भाइरस सर्ला भन्ने ठुलो चिन्ताले सताइ रह्यो । युगान्डामा जानको लागि भिसा लिने बेलामा यलो फिवरको सुई लगाएको प्रमाण पेस गर्नु पर्ने भएकाले मैले पनि लगाइ सकेको थिए । सुई लगाएपछि साइडइफेक्टको रूपमा फ्लु हुने सम्भावना ५ प्रतिशत हुन्छ भनेका थिए । छोराछोरीको स्कुल कलेजका बिरामीबाट पनि फ्लु भाइरस आउन सक्ने उत्तिकै चिन्तामा रही रहे । एकतिर मलाई बिरामी परी रक्तदान गर्न युगान्डा जान नपाउने डर लागि रहेको थियो । अर्को तर्फ युगान्डामा पनि लामखुट्टेको टोकी अन्य रोग सर्ला भन्ने उत्तिकै चिन्ता लागि रहेको थियो । म्रिगौला पत्थरिको पिर पनि उत्तिकै थियो । यहाँ मलाई बिरामी होइला पिर भन्दा पनि बिरामी भई रक्तदान गर्न नपाइने हो कि भन्ने तनाव रहिरह्यो । अन्त्यमा, मैले स्वास्थ्यलाई उच्च जोखिममा राखेर फेब्रुअरी ९, २०१८ बेलुकाको हवाई जहाजबाट युगाण्डा गए । ७,८६९ माइलको यात्रा गर्न हवाई जहाजले २० घण्टा लगायो ।

एन आर एन का पूर्व अध्यक्ष रमेश कडेलले एअरपोर्टमा फुलको गुच्छाले स्वागत गर्नु हुँदै वेष्ट वेष्टर्न होटेलमा लगिदिनु भयो । भोलि पल्ट बिहान १० बजे रमेशसँगै कम्पलाको आकासिया मल गए । मलको चार तलाको कौसी सम्म मोटार लान मिल्दो रहेछ । मलको चार तलामाथिको करिब ४ हजार स्क्वायर फिट फराकिलो कौसीमा कार्यक्रममा उपस्थित सबैले अङ्कमाल गर्दै ‘तपाईँलाई युगान्डामा स्वागत छ’ भने । त्यसपछि सबैले पलाई पालो फोटो खिचे । मैले रगतको पोका लिएको फोटो सहित ‘आवर एट्राक्सन मिस्टर अर्जुन प्रसाद मैनाली, १६० टाइम्स ब्लड डोनर’ दुई बाइ छ मिटर ठुलो ब्यानरमा लेखेका रहेछन् । रक्तदाता लाई कदर गर्ने प्रसम्सा पत्रमा पनि मेरो हस्ताक्षर सहित विशेष अतिथि अर्जुन प्रसाद मैनाली लेखेका रहेछन् । त्यहाँको समाजमा प्रतिष्ठित भारतीय तथा पाकिस्तानी संस्थाका पदाधिकारीहरू पनि भेट गर्न आउनु भएको रहेछ । त्यतिका पटक रक्तदान गरेको मान्छे, मानवीय सेवा भावनाले रक्तदान गर्नका लागि नै संसारको कुना कुनामा पुगेका व्यक्ति भनेर समाजले मलाई रक्तदान अभियन्ताको रूपमा हेरेको रहेछ ।

स्थानीय टेलिभिजन, पत्रपत्रिकाका समाचारदाताहरूले अन्तर्वाता र फोटो लिए । स्थानीय रक्तदाताहरुले खुसी व्यक्त गर्दै ‘अमेरिका देखी यहाँसम्म आएर रक्तदान गर्दै हामीलाई हौसला दिनु भएकोमा धन्यवाद छ’ भने । हावाइजहाजको लामो यात्रा, निन्द्रा र थकाइका कारणले मेरो रक्तचाप धेरै बढेको रहेछ । करिब चार घण्टा लगाएर १० बोतल पानी पिए पछि रक्तचाप नियन्त्रण भयो । त्यहाँ नेपाली, भारतीय, पाकिस्तानी र स्थानीय नागरिक सहित १०१ जनासँगै मैले पनि रक्तदान गरे । यो मेरो १६१ औ रक्तदान थियो । सातजनाले विभिन्न कारणले रक्तदान गर्न पाएनन् । त्यस्तो ठाउँमा आफ्नो पाखुरामा सुई घुसारी प्लास्टिकको थैलाभरि रगत दिएर युगान्डानहरुलाई बचाउन प्रयास गर्नु चान चुने कुरा छतै थिएन । लामो प्रयासपछि आफ्नो योजना सफल भएकोमा धेरै खुसी लाग्यो । कार्यक्रमका अर्का अतिथि ब्लड बैङ्क युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरूको यस मानवीय कार्यको लागि आभार व्यक्त गर्नु भएको थियो ।

सबैको लागि रक्तदाता टिसर्ट, चिकेन बिर्यानी, फलफुल, जुस, पानी सहितको दिवाभोज, कदर पत्र, सबै रक्तदाताको लागि दश दश हजार सिलिङ यातायात खर्च प्रदान गरिएको थियो । कार्यक्रम अलि खर्चिले बनेको थियो । भारतीय संस्थाका पदधिकारीहरुले रक्तदान कार्यक्रम आयोजकलाई रक्तदान कार्यक्रम गर्नु भएको मा धन्यवाद भन्दै ‘तपाईँहरूको जस्तो व्यवस्थित र भव्य कार्यक्रम हामीले पहिलो पटक देखेका हौ’ भनेका थिए । कार्यक्रमको अन्त्यमा एन आर एन युगान्डाले मेरो योगदानको कदर गर्दै सम्मान पत्र र उपहार प्रदान गरेका थिए । संस्थाका अध्यक्ष, पदाधिकारीहरू, स्वयमसेवक, रक्तदाता र अन्य उपस्थित व्यक्तिहरूमा बृहत् रक्तदान कार्यक्रम गर्नु भएकोमा धन्यवाद भन्दै म बिदा भए । तर थोरै मेहनतले धेरै रक्तदाता बृदि भए । प्रवासी नेपालीहरूले रक्तदान कार्यक्रम गरेको युगाण्डा २० औ देश थियो ।

यसरी छ महादेशका १३ देशहरूमा स्थानीय स्तरमै सहयोग गर्दै, उपस्थित भई रक्तदान गरे । २ लाख भन्दा बढीमा रक्तदान उत्प्रेरणा गराए । १५ हजारजनामा रक्तदान गराए । अझ,म स्वयम्ले सन २०१४ मा छ देशमा १९ पटक रक्तदान (६ पटक होल ब्लड र १३ पटक प्लेट्लेट्स) गरे । यो सम्पूर्ण सम्भावित रक्तदाताहरुको लागि प्रेरणाको कुरा हो ।

कार्यसमितिका केही सदस्यहरूले म एयरपोर्ट जाने बेलामा, ‘हामीले झन्डै रक्तदान कार्यक्रम नगरेको नि सर’ भने । किन भनेर सोध्दा सारै झन्झटिलो, खर्चालु र रक्तदाता जुटाउनै गर्‍यो पर्ने हो कि भन्ने थियो । तपाईँ आउने नै भएपछि मात्र लाजैले गर्नु पर्ने भयो नि हजुर भने । त्यतिखेर मेरो मनमा, ‘मैले सही तरिकाले रक्तदान उत्प्रेरणा गरेको हुनाले कार्यक्रम हुन सकेको रहेछ । मेरो प्रयास उपलब्धि मूलक बनेछ। मेरो समय, साधन श्रोत र प्रयास खेर गएनछ’ भन्ने लाग्यो । पूर्व अध्यक्ष रमेश कडेलले यअरपोर्ट पुर्‍याउनु हुँदा बाटोमा भिक्टोरिया पोखरी देख्नु भयो । संसारकै लामो नाइल नदी त्यही पोखरीबाट सुरु हुँदो रहेछ । मेरो युगाण्डाको बसाइ एक दिनको पनि थिएन । बार्हैकाल न्यानो मौसम, हरियाली सोझा जनता भएको देश रहेछ । केही धेरै धनी र अधिकान्स जनताहरू धेरै गरिब रहेछन् । त्यहाँका युवा युवतीहरूमा बहुसहवासलाई सामान्य मानिँदो रहेछ । मात्रित्व कारण जन्मिएका बच्चाहरू महिलाको हुने रहेछ। तिनीहरूलाई पालनपोषण गर्न महिलाहरूलाई धेरै गाह्रो पर्दो रहेछ । धेरै गरिबी र आय आर्जनका बाटो नभएकाले महिनाको ५० डलर सम्ममा महिलाहरू हाउसकिपिङका काम गर्दा रहेछन् । अझ केही नेपालीहरूले त्यस्ता महिलाहरूलाई रोजगारी पनि दिएका रहेछन् ।

युगान्डाबाट फर्किँदा फेब्रुअरी १२ मा बिहान मेरो ४ घण्टाको हवाईजहाजको ट्रान्जिट नेदरल्याण्डमा थियो । करिब २ घण्टाको लागि म बाहिर निस्किए । एन आर एन ए को एकेडेमी कार्यक्रम अन्तरगत रक्त सञ्चार प्रविधि समितिले मलाई एक छिनको लागि भए पनि भेटौँ भनेका थिए । एन आर एन ए को सहयोगमा नेदरल्याण्डको ब्लड बैकले नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्रका पदाधिकारी तथा प्राबिधिग्य हरूलाई रक्तसन्चार प्रविधि बारे सानो तालिमको आयोजना गरेको थियो । भेटघाटका अवसरमा मलाई रेडक्रसका पदाधिकारीहरूले,’तपाइले विभिन्न समयमा नेपालमा रक्तदान उत्प्रेरणाका कार्यक्रम गर्नुका साथै विश्वब्यापी रक्तदान अभियान चलाउनु भएको प्रसन्सनिय छ’ भन्दा धेरै खुसी लाग्यो । मैले ‘तपाइहरूले पनि त रक्तसन्चार सेवा स्थापना गरेर ठुलो सहयोग गरिरहनु भएको छ । त्यसको लागि धन्यवाद छ’ भने ।

त्यसपछि न्यु योर्क जानको लागि हवाईजहाज पर्खि रहेको ठाउँमा गए । सुरक्षा जाँचका क्रममा रातो बत्ती बल्यो । सुरक्षा अधिकारी मेरो सुट्केश खोलेर हेर्दा जनावरको सिङ देखे । युगान्डाका नेपालीहरूले म फर्किने बेलामा सानो उपहार भनेर एउटा पोको दिएका थिए । मैले घरमा पुगेर श्रीमतीलाई सर्प्राइज उपहार देखाउला भन्ने सोचेले खोलेको थिइन । दुई तीन दिन देखी निन्द्रा र थकाई लागि रहेको थियो । केही कप वाइन पिए पछि एकै चोटि न्यु योर्क पुगे पछि बिउँझेछु । केटाकेटीहरूको लागि एअरपोर्टबाट चकलेट लागि दिएको थिए । धेरै खुसी भय । झन् श्रीमतीलाई छुटाउने त कुरै भएन । उनलाई पनि चकलेट र फुलको गुच्छा लगेको थिए । उनको अनुहारमा पनि खुसी देखे । हाम्रो विवाहको २०औ वार्षिक दिन पनि त थियो नि ।

प्रतिक्रिया