अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३२ | Colorodo: 05:47

मेरो राजिनामाको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको मूर्खतापूर्ण, भ्रामक, र अमेरिकी विरोधी आप्रवासी नीति हो – राजदूत फ्रिली

बिराटिनेपाल संवाददाता २०७४ फागुन २६ गते १०:१७ मा प्रकाशित

पानामाका लागि अमेरिकी राजदूत जोन फ्रिलीले आफ्नो राजिनामाको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मूर्खतापूर्ण, भ्रामक, र अमेरिकी विरोधी’ आप्रवासी नीति भएको प्रष्ट पारेका छन् ।

गत वर्ष राजिनामा दिएका फ्रिलीले शुक्रबार द वाशिङ्टन पोस्टमा लेख प्रकाशन गरेर ट्रम्पको आलोचना गर्दै राजिनामाको कारण खुलाएका हुन् । त्यसमा उनले आफू ट्रम्प प्रशासनमा थप सेवा दिन नसक्ने निर्णयमा पुग्नुको कारण पनि उल्लेख गरेका छन् ।

सन् १९९० मा अमेरिकी परराष्ट्र सेवा युएस स्टेट डिपार्टमेन्टमा प्रवेश गरेका उनी पाका कुटनीतिज्ञ हुन् । ल्याटिन अमेरिका मामिला उनको चासोको विषय हो ।

‘राष्ट्रपतिको राष्ट्रिय सुरक्षा रणनीति र परराष्ट्र नीतिले अमेरिकाको परम्परागत जगलाई हल्लाइदियो, धोका दियो,’ उनले लेखेका छन्, ‘म व्यक्तिगत रुपमा (ट्रम्पको) प्रतिनीधित्व गर्न सक्दिन र आफ्नो आस्थाप्रति इमान्दार रहन चहान्छु जसले अमेरिकालाई साँच्चिकै महान बनाएको छ ।’

लेखमा फ्रिलीले ट्रम्पको मुख्य मुख्य राष्ट्रिय सुरक्षा नीतिको आलोचना गरेका छन् । त्यसमा यात्रामा प्रतिबन्ध, अमेरिका– मेक्सिको सीमानामा पर्खाल बनाउने योजना, अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेका मानिसका बच्चालाई कानूनी सुरक्षा दिने ब्यबस्थाको खारेजी, पेरिस क्लाइमेट एग्रिेमन्ट र ट्रान्स प्यासिफिक पार्टनरशीपबाट पछि हट्ने निर्णय छन् । उनले आफ्नो आप्रवासी पारिवारिक पृष्ठभूमी र अनुभवलाई समेत आधार बनाएर लेखमा उल्लेख गरेका छन्, ‘आप्रवासनका सम्बन्धमा राष्ट्रपतिको नीति मूर्खतापूर्ण मात्र छैन भ्रामक र अमेरिका विरोधी पनि छ ।’

फ्रिली हिस्पानिक अमेरिकनको हितमा काम गर्ने युनिभिजन नामक अमेरिकी टेलिभिजनमा काम गर्ने तयारीमा रहेको बताइएको छ । पानामाको राजदूतको रुपमा उनको अन्तिम दिन शुक्रबार हो । उलने गत वर्ष २७ डिसेम्बरमा राजिनामा दिएका थिए । उनको राजिनामा गत जनवरीमा मिडियामा चुहेको थियो । त्यसलाई उनले दशकौं सम्म गैरराजनीतिक रुपमा देशलाई सेवा गर्नेहरुमाथि वर्तमान प्रशासनले ज्यादै कम सम्मान गर्छ भन्ने उदाहरण भएको प्रतिक्रिया दिएका थिए ।

युएस मरिन कोरमा समेत काम गरेका फ्रिलीले कुटनीतिज्ञका रुपमा डिमक्रट र रिपब्लिकन दुवैसँग काम गरेका छन् । उनलाई बाराक ओबामाले पानामाका लागि अमेरिकी राजदूतका रुपमा नियुक्त गरेका हुन् ।

उता मेक्सिकोका लागि अमेरिकी राजदूत रोबेर्टा यकबसनले पनि १ मार्चमा आफ्नो राजिनामाको घोषणा गरेकी छन् । उनले मेदखि युएस स्टेट डिपार्टमेन्ट छाड्ने छिन् । उनी स्टेट डिपार्टमेन्ट छाड्ने घोषणा गर्ने पछिल्लो हाई प्रोफाइल व्यक्तित्व हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू