अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

सामुदायीक भवन निर्माणका लागी कोलोराडोको अरोरामा सप्ताह पुराण

नातिबाबु भट्ट, कोलोराडो २०७४ फागुन २६ गते १:५४ मा प्रकाशित

नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्न अयोजना गर्न लागीएको श्रीमद्भागवत् महापुराण अरोरामा लगाइने भएको छ ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा आगामी अप्रील २८ देखी मे ५ तारीक सम्म पण्डित दिनबन्धु पोख्रेलको उपस्थितीमा लगाइने महापुराणको लागी अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा स्थान बुकगरे सगै अरोरामा लगाईने पक्का भएको हो ।

कोलोराडोमा सामुदायीक भवन निर्माणका लागी श्रीमद्भागवत् महापुराण लगाउन यहा कृयाशिल संघ संस्था तथा समाज सेवीहरुको भेलाले यस अघि सर्वसम्मत निर्णय गरको छ ।

त्यसैगरी भेलाले भागवत्पुराण सफलताको साथ सम्पन्न गर्न समाजका गन्यमान्य महानुभाव रहेको अध्यक्ष मण्डल समेत चयन गरि सकिएको छ । यसरी सर्बसम्मत निर्णयगरी चयन गरिएका महानुभावहरुमा डा.बिष्णुबहादुर श्रेष्ठ, डा.बिजयराज शर्मा, रामप्रसाद श्रेष्ठ, नारायण श्रेष्ठ, नविन दत्त, पुरुषोत्तम पाण्डे रहेका छन् ।

अहिले कोलोराडो स्थित हरेक बस्ती बस्तीबाट नेपाली तथा नेपाली मुलका नेपाली भाषीहरुको नामावली संकलन कार्यक्रम भईरहेको छ । यस पछि छिट्टै मुल समिती तथा उपसमितीहरु गठनगरि कामको जिम्बेवारी बांडफांड गरिने नेपाली घरका अध्यक्ष लछुमन रानाले बताएका छन् । नेपाली समुदायको बर्षौ अघि देखिको सपना साकार पार्ने यस पुनित कार्यलाई सफलाताका साथ सम्पन्न गर्न महापुराणको सात दिने अवधिलाई एक पर्वको रुपमा मनाउन कोलोराडो निवासी सबै नेपाली र नेपाली भाषी समुदायलाई आयोजक समितीले अनुरोध गरेको छ ।

समितीले हरेक दिन दिउसो ३ बजेदेखी राती ९ बजेसम्म बाचन हुने महापुराणको अवधिमा काममा बिदा मिलाई हरेक दिनको भागवत्पुराण श्रवणगर्ने बातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य कमाउन सबैलाई हार्दिक अनुरोध समेत गरेको छ ।