अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

पेट्रोलियम पाइपलाइनको काम शुरु

बिआरटीनेपाल २०७४ फागुन २५ गते ५:५२ मा प्रकाशित

पेट्रोलियम पाइपलाइनको काम शुरु

नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ ।

सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको जिम्मा पाएको भारतीय कम्पनी लिखिया इन्फ्रास्ट्रक्चरका प्राविधिकले पाइप जोड्ने काम शुरु गरेका छन् । पन्ध्र महिनाभित्र पाइपलाइन विस्तार गर्ने लक्ष्य लिएको सिमरास्थित पेट्रोलियम पाइपलाइन विस्तार आयोजनाले पाइप जोड्ने काम सकिएपछि जमीनमुनि पुर्ने काम गर्नेछन् । त्यसका लागि खाल्डो खन्ने यन्त्र भारतबाट ल्याउन लागिएको आयोजनाका प्रमुख शरदकुमार पौडेलले राससलाई बताउनुभयो । सो पाइपलाइन सिर्सिया नदीमुनिबाट लगिने बताइएको छ ।

भारत सरकारको इण्डियन आयल कर्पाेरेशन (आइओसी)को करीव ३५० करोडको लागतमा निर्माण भइरहेको सो पाइपलाइनका लागि सबै पाइप आइसकेकाले जडान गर्ने काम धमाधम भइरहेको छ । नेपालतर्फ रक्सौल–अमलेखगञ्जसम्म ३६.७ किमी र भारत मोतीहारी रक्सौलसम्म ३३.२ किमी गरी ६९.९ किमीको पाइपलाइन निर्माण हुन लागेको आयोजनाले जनाएको छ ।

आयोजना निर्माणको जिम्मा पाएको आइओसीले जनवरीदेखि वीरगञ्जमा पाइप आउन थालेको हो । प्रतिमहिना रु दुई लाख ३० हजारका दरले वीरगञ्जस्थित चिनी कारखानाको दुई बिघा जग्गा भाडामा लिएर भण्डारणस्थलमा सो पाइप भण्डारण गरिएको छ । पाइपलाइन प्रयोगमा आएपछि प्रतिघण्टा दुई लाख लिटर इन्धन अमलेखगञ्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ । पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्ने र चुहावट नियन्त्रणमा समेत रोकिने विश्वास परियोजनाले लिएको छ । पाइपलाइन सञ्चालन भएपछि नेपाल सरकारले बेहोर्दै आएको रु एक अर्ब ५० करोड छ वर्षसम्म बचत हुने बताइएको छ । यसले पेट्रोलियम ढुवानी लागत सस्तो हुने तथा चोरी, चुहावट, मिसावट तथा ट्राफिक जामजस्ता समस्या हट्नेछन् ।

पाइपलाइनबाट एक पटकमा तीन हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ । वीरगञ्जको शंकराचार्यद्वारबाट तीन किमी गण्डक नहरसम्म बाइपास सडकको दायाँ भाग र त्रिभुवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको दायाँबायाँ भागमा पाइप ओछ्याउने योजना छ । भारत महाराष्ट्रको जिन्दल कम्पनीले माटो परीक्षण गरी जडान भइरहेको पाइपको गोलाइ १०.७५ इञ्च तथा मोटाइ ०.२१९ इञ्च छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू