अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

कोलोराडोमा २१४५ औं स फो खिलो ग्याल्पो ल्होसार सम्पन्न (भिडियो)

बिआरटीनेपाल २०७४ फागुन २५ गते ४:४८ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा २१४५ औँ स फो खिलो ग्याल्पो ल्होसार मनाइएको छ । कोलोराडो राज्यको गोल्डेन् सिटीमा विविध कार्यक्रमको आयोजना गरी मार्च ३ तारिखका दिन शेर्पा समुदायको २१४५ औँ स फो खिलो ग्याल्पो ल्होसार सम्पन्न भएको हो ।

लाक्पा र डिकी शेर्पा-गोल्डेन, पसाङ् र जाङ्मु शेर्पा-अरोरा, ङिमा र दावा फुटी शेर्पा-कोलोराडो स्प्रिङ्स् आयोजक रहेको यो वर्षको स फो खिलो ग्याल्पो ल्होसार कार्यक्रम लामाद्वारा पूजापाठबाट गरी कार्यक्रमको सुरुवात भएको थियो र पूजापाठ पश्चात् लामाद्वारा अभिषेक प्रदान गरिएको थियो ।

बिहान ९:३० बजे सुरु भई राती ११:३० बजे सम्म चलेको ल्होसार कार्यक्रममा बिधिवत रूपमा अभिषेक प्रदान गरी अमेरिकन र नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको थियो ।

कोलोराडो र अन्य राज्यका गरी करिब ३०० जनाको उपस्थिति रहेको कार्यक्रममा आयोजकहरूको तर्फबाट लाक्पा शेर्पाले स्वागत मन्तव्य राखेका थिए भने आयोजक सदस्यहरूले हातमा खाता लिएर ङिमा किपी ङिमा भन्ने बोलको गीतबाट उपस्थित पाहुनाहरूलाई स्वागत गरेका थिए ।

दुई चरणमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य पछि लन्चको लागि समय छुट्याईको थियो । लन्चपछि साङ्गीतिक र सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा कलाकारले गायन र विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । अत्यन्त आकर्षक सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रममा दर्शकले पनि कलाकारलाई साथ दिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा तिब्बतीयन कलाकारको विविध प्रस्तुति रहेको थियो ।

दोस्रो चरणको कार्यक्रम दिउँसोको नास्ता पछि सुरु भएको थियो जसमा आगामी वर्षका लागि नयाँ आयोजक छनौट, बधाई तथा शुभकामना ज्ञापन र भाग्यशाली छनौट गरी मरमोटको ज्याकेट, पन्जा सिलिपिङ ब्याग, झोला लगायतका सामग्री वितरण गरिएको थियो ।

दिनभर चलेको कार्यक्रममा रात्रि खानाको पनि व्यवस्था गरिएको थियो । रात्रि भोजनपछि पनि शेब्रुको तालमा दर्शकले माहौलमा रौनकता थपेका थिए । उपस्थित सबैलाई खाता लगाइदिएर धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा डिजे सेसनले पनि रात्रिकालिन समयलाई उत्साहित बनाएको थियो ।

प्रतिक्रिया