अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

राष्ट्रपति/प्रमुख पद निर्वाचन भोलिबाट – कुन पदमा कसको उमेद्वारी ?

बिआरटीनेपाल २०७४ फागुन २५ गते ०:१५ मा प्रकाशित

संघीय नेपालको पहिलो सभामुख देखि राष्ट्रप्रमुख सम्मको चयन संघीय संसदबाट हुदैछ । विभिन्न पदका लागि भोलि बाट एक साता सम्म हुने मतदानका लागि सांसदहरु व्यस्त हुदै हुनुहुन्छ । तर नेकपा एमाले र माओवादी केन्द्रको बहुमत रहेको संघीय संसदमा दुबै दलबाट आकांक्षी बढी भएपछी भने केही पदमा सहमति जुटेपनि अझै केही पदमा को आउला यो अनुमान मै सिमित भइरहेको छ ।

संघीय संसदमा शनिवार सभामुख चयनका लागि निर्वाचन हुँदैछ । यसैगरी राष्ट्रपति निर्वाचनका लागि मंगलबारको मिति तोकिएको छ । फागुन ३० गते बुधवार राष्ट्रिय सभाका अध्यक्ष, चैत २ गते प्रतिनिधिसभाका उपसभामुख र चैत्र ४ गते राष्ट्रिय सभा उपाध्यक्ष चयनका लागि निर्वाचन हुदैछ ।

मुलुक संघीय संरचनामा गएपछीको पहिलो संघीय संसदका प्रमुख र उपप्रमुख सहित राष्ट्रपति र उपराष्ट्रपति समेतको चयन मतदानबाट हुने भएको छ । संघीय संसदमा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको बहुमत रहेको छ । तर थोरै पद र धेरै आकांक्षी भएपछी भने केही पद बाहेकमा को आउला अनुमान मात्र बनेको छ ।

राष्ट्रपति पदका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन दर्ता गराउनु छ । नेपाली कांग्रेसले कुमारी लक्ष्मी राईको उम्मेदवारी दर्ता गराएको भएपनि संसदमा वाम गठवन्धनको बहुमत भएका कारण राष्ट्रपति भण्डारी निर्वाचित हुने निश्चित जस्तै छ ।

राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्ष एमालेले लिने र उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको उपाध्यक्ष माओवादी केन्द्रले लिने दुई पार्टीको सहमति अनुसार उपराष्ट्रपतिमा बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन नै दोहोर्याउने मनस्थितिमा माओवादी छ । तथापि उपराष्ट्रपति पदमा नेता अमिक शेरचनको नाम पनि केही माओवादी नेताहरुले प्रस्ताव गर्नुभएको छ ।

यस्तै प्रतिनिधी सभाको सभामुखमा माओवादी केन्द्रले कृष्णवहादुर महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको भागमा परेको राष्ट्रियसभाको अध्यक्षमा भने परशुराम मेघी गुरुङ, गणेश तिमल्सिना, सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई शेरबहादुर कुँवर लगायतको नाम चर्चामा छ ।

संसदमा स्पष्ट दुई तिहाइ पुर्याउन संघीय समाजवादी फोरम र राजपा समेतलाइ सरकारमा ल्याउन लागेको बाम गठबन्धनले फोरमलाइ उपसभामुख दिने भएका छन् । तर फोरमले उपसभामुखमा कसलाई पठाउने भन्नेबारे भने कुनै निर्णय गरिसकेको छैन ।

राष्ट्रपतिमा उम्मेद्वारी दिए पनि प्रतिपक्षी कांग्रेस भने सभामुख, उपसभामुख र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेद्वारी नदिने मनस्थितिमा छ । संसदमा बहुमत रहेको बाम गठबन्धन पक्षका उम्मेदवारले जित्ने निश्चित हुने भएपछी कांग्रेसले उम्मेद्वार नउठाउने मनस्थिती बनाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू