अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

त्रिशूली ‘थ्री ए’ले गति लियो

बिआरटीनेपाल २०७४ फागुन २४ गते १८:५२ मा प्रकाशित

काठमाडौँ, फागुन २४ गते । त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी भएको छ । यस अघि भूकम्पले क्षति पु¥याउँदा र चिनियाँ एक्जिम बैङ्कसँग ऋण सम्झौता हुन नसक्दा लामो समय रोकिएको निर्माण कार्य गत तीन महिनादेखि पुनः सुरु भएपछि आयोजनाले गति लिएको छ ।

भूकम्पसँगै निर्माणका भएका संरचनामा क्षति पुगेको र नाकाबन्दीले समेत काममा प्रभाव पर्दा तत्कालीन अवस्थामा करिब ५० प्रतिशत निर्माण भइसकेको आयोजना निर्माणमा लामो समय अन्योलमा रहेको थियो । गत कात्तिक महिनाका दोस्रो साता आयोजना निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कसँग ऋण नवीकरण सम्झौता भएपछि आयोजनाको थप काम अगाडि
बढेको हो ।

आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार भूकम्पले क्षति पु¥याएको संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार सहित नयाँ कामको मूल्याङ्कन गर्दा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ । उहाँले भन्नुभयो, धेरै समय त भूकम्पले क्षति पु¥याएको संरचनाको अध्ययन, सरसफाई लगायतका कामले खर्च ग¥यो । अध्ययन पछि कतिपय संरचनाको मर्मत सम्भार गर्नुपर्ने र कतिपय संरचना पुनर्निर्माण नै गर्नुपर्ने देखिएकोले त्यतातिर काम गर्नुप¥यो । केही संरचनाको मर्मत तथा निर्माण कार्य अझै चलिरहेको छ । यति हुँदाहुँदै पनि नयाँ कामको थालनी गरिसकिएको छ । आयोजनाको सबै संरचनामा काम भइरहेको छ ।

आयोजना प्रमुख जोशीका अनुसार भूकम्पले धेरै क्षति पु¥याएको बाँधस्थलमा मात्र अहिले पनि काम भइरहेको छ । भूकम्पले क्षति पु¥याएको अरु सबै भागमा मर्मतसम्भार, पुनर्निर्माण लगायतका कार्य सम्पन्न भइसकेका छन् । ती भागमा नयाँ कामको थालनी भइसकेको छ ।

बाँधस्थल, सुरुङ, विद्युत्गृह सबै स्थानमा कामको गति निकै अगाडि बढिरहेको छ । उहाँले भन्नुभयो, निर्माण कार्यमा कुनै किसिमका अवरोध आइलाग्यो भने दैनिक तथा साप्ताहिक रूपमा निर्माण तथा परामर्शदाता कम्पनीसँग बसेर छलफल गरी समाधानको बाटो पहिल्याउने गरिएको छ । त्यसले गर्दा चिनियाँ एक्जिम बैङ्कसँग ऋण सम्झौता भएर काम सुरु भएपछि अपेक्षित रूपमा काम भइरहेको छ ।
विद्युत्गृहमा हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलको कार्य पनि धमाधम भइरहेको छ । हाल ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीले पनि आफ्ना सबै साधन, स्रोत र जनशक्तिको प्रयोग गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको सिभिल कार्य गर्न चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पाेरेसन (सीजीजीसी) र प्रसारण लाइन निर्माण गर्न चिनियाँ कम्पनी सीडब्लूईले काम गरिरहेको छ । ६० मेगावाट उत्पादन क्षमताको यो जलविद्युत् आयोजनाको निर्माणका लागि ऋणदाताका रूपमा रहेको चिनियाँ एक्जिम बैङ्कसँगको ऋण सम्झौता भएअनुसार हाल सो बैङ्कले ऋण प्रवाह गर्दैआइरहेको छ ।

सन् २०१६ को जुन ३० सम्म निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको यो आयोजनालाई भूकम्पपछि सन् २०१९ अप्रिल ३० सम्म पूरा गर्ने लक्ष्य राखिएको छ । झण्डै एक वर्षसम्म ऋण सम्झौता र भूकम्पका कारणले आयोजनाको काम प्रभावित भएको थियो । सन् २०१६ मे १८ बाट समाप्त भएको ऋण सम्झौता गत सन् २०१७ को अन्तिममा आएर नवीकरण भएको थियो । जसले गर्दा आयोजना करिब तीन वर्ष पछि धकेलिएको छ । आयोजना निर्माण गर्न लाग्ने सबै लगानी (७९४ मिलियन चिनियाँ रुपियाँ) नेपाललाई चिनियाँ एक्जिम बैङ्कले दिने सम्झौता छ ।
प्रसारण लाइन निर्माण गर्न चिनियाँ कम्पनी सीडब्लूईले काम गरिरहेको छ । नुवाकोटको सिम्लेदेखि काठमाडौँको मातातीर्थसम्मको ४५ किलोमिटरमा १४२ वटा टावर मध्ये १०८ वटा टावरको फाउन्डेसन निर्माण भइसकेको प्रमुख जोशीले बताउनुभयो । ती मध्ये ५७ वटा टावर ठड्याइसकिएको छ भने भने १५ वटा टावर ठड्याउने कार्य भइरहेको छ ।

आयोजनालाई चुनौती
प्रसारण लाइन निर्माणका क्रममा काठमाडौँको मातातीर्थका बासिन्दाले टावर निर्माण कार्यमा लामो समयदेखि अवरोध पु¥याइरहेका छन् । संरचना निर्माण हुने स्थान सरकारी सार्वजनिक जग्गाको भोगाधिकार आयोजनालाई दिने सरकारले निर्णय गरेको भए पनि स्थानीय बासिन्दाले निरन्तर अवरोध पु¥याउँदा थप काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख जोशीले भन्नुभयो, छलफल धेरैपटक चल्यो, निकास निस्किन सकेको छैन । यहीँ कारणले आयोजना निर्धारित समयमा सम्पन्न हुनसक्दैन कि भन्ने चिन्ता छ । यद्यपि उहाँहरूसँग छलफल सकारात्मक ढङ्गले बढिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू