अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

असोजदेखि कलंकी-महाराजगञ्ज चक्रपथ विस्तार

बिआरटीनेपाल २०७४ फागुन २४ गते १८:०५ मा प्रकाशित

काठमाडौं । कलंकी–कोटेश्वर खण्डको निर्माण सकिए लगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउने भएको छ । चीन सरकारको शतप्रतिशत अनुदानमा आगामी असोज महिनादेखि कलंकी महाराजगञ्ज चक्रपथ विस्तार अघि बढाउने तयारी भैरहेको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जय कुमार श्रेष्ठले बताए ।

‘चीनले अध्ययन सम्पन्न गरिसकेको छ, हामीले प्रारम्भिक चरणको सम्झौता पनि गरिसक्यौं, असार भित्र साइड क्लियरेन्स गर्ने हाम्रो जिम्मेवारी हो’, वैदेशिक सहायता महाशाखा प्रमुख श्रेष्ठले विकासन्युजसँग भने । श्रेष्ठका अनुसार आगामी असार भित्र सडक विभागले कलंकी देखि महाराजञ्जसम्मको सडकका तार, ढल, रुख, खानेपानीका पाइप सबै हटाईसक्नेछ ।

चीन सरकारले सो खण्ड विस्तारका लागि करिब ६ अर्ब बजेट लाग्ने अनुमान गरेको छ । निर्माण आरम्भ गरेको तीन बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । ढिलोमा ४ बर्षभित्र कलंकी देखि महाराजगञ्ज खण्ड आठ लेनको बनिसक्नेछ ।
कलंकी–महाराजगञ्ज खण्ड निर्माण आरम्भ हुने वित्तिकै तेश्रो चरण अन्तर्गत महाराजगञ्ज–कोटेश्वरको काम अघि बढाइनेछ । ८.८ किलोमिटर लामो तेश्रो चरणमा चावहिल देखि गौशालासम्मको १.५ किलोमिटर खण्डमा भने अण्डरपास वा फ्लाईओभर निर्माण गरिनेछ । ‘विश्व सम्पदा सूचिको पशुपति क्षेत्र र नागरिकका घरहरु धेरै भएकाले फ्लाईओभर वा अण्डर पासको विकल्पबारे छलफल भैरहेको छ’, श्रेष्ठले भने । उनले तिनकुनेदेखि जडिबुटीसम्म भने अण्डर पास बनाउने निर्णय भैसकेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू