अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

दक्षिण कोरियाली विशेषदूत अमेरिका प्रस्थान

बिआरटीनेपाल २०७४ फागुन २४ गते ८:३५ मा प्रकाशित

सोल, हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्र्किएका दुइजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिकाका लागी प्रस्थान गर्नुभएको समाचार छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख सु हुन बिहीबार अमेरिका प्रस्थान गर्नुभएको हो ।

उहाँ मङ्गलबारमात्र स्वदेश फर्किनुभएको हो । उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने छ ।

त्यसैगरी उहाँहरुले उत्तर र दक्षिण कोरियाको वार्ताको विषयमा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुहुने बताइएको छ ।

उहाँहरुले विशेषगरी हालै भएको उत्तर कोरियाको भ्रमणका क्रममा भएको पछिल्लो विकसित परिस्थितिको बारेमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराउनुहुने बताइएको छ ।

उत्तर कोरियामा भएको सो भ्रमणका समयमा के कस्तो विषयमा कुराकानी भयो र उत्तर कोरियाले परमाणुअस्त्रको उत्पादन रोक्ने बारेमा के प्रतिक्रिया दिएको छ भन्ने बारेमा सो भेटमा उहाँहरुले जानकारी दिनुहुने समाचारमा जनाइएको छ ।

विशेषदूतका रुपमा उहाँहरुले उत्तर कोरियाली नेता किम जोङ उनसँग गएको सोमबार साँझ प्योङयाङमा भेटवार्ता गर्नुभएको थियो ।

सो भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू