अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३५ | Colorodo: 21:50

पोर्न स्टारद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरी अर्को यौन मुद्धा

बिआरटीनेपाल २०७४ फागुन २४ गते २:२२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यौनसम्बन्धी मुद्धा लगाएकी पोर्न स्टार स्टोर्मी डेनियल्स अर्थात स्टेफानी क्लिफोर्डले उनी विरुद्ध अर्को पनि मुद्धा दायर गरेकी छिन् ।

नयाँ मुद्धामा उनीहरु बीचको यौन सम्बन्ध सम्बन्धी सम्झौतामा ट्रम्प आफैँ नभएर उनका नीजि वकिल माइकल कोहेन संलग्न रहेको दाबी गरिएको छ । मुद्धा क्यालिफोर्निया स्टेट कोर्टमा दर्ता गरिएको छ । क्लिफोर्डकी वकिलले गरेको ट्वीट अनुसार ट्रम्पका नीजि वकिल कोहेनले सम्झौतामा हस्ताक्षर गरेको दाबी छ ।

क्लिफोर्डले ट्रम्प राष्ट्रपति हुनु धेरै वर्ष अघि उनीसँग आफ्नो यौन सम्बन्ध रहेको दाबी गरेकी छिन् । मुद्धामा राष्ट्रपतिसँग थुप्रै महिलाले सम्बन्ध रहेको र उनका वकिल कोहेनले आफुलाई पनि मुख खोल्न नदिन प्रयास गरेका दाबी गरिएको छ । ‘सम्झौतामा ट्रम्पले हस्ताक्षर नगरे पनि कोहेनले क्लिफोर्डको वकिलको खातामा १ लाख ३० हजार डलर जम्मा गरेका छन् । कुनै कानूनी र लिखित सम्झौता नभएपनि ट्रम्पसँगको आफ्नो सम्बन्धबारे मुख नखोल्न उक्त रकम दिइएको हो,’ दायर मुद्धामा दाबी गरिएको छ ।

साथै कोहेनले क्लिफोर्डलाई मुख खोल्न नदिन निरन्तर प्रयास गरेको पनि दाबी गरिएको छ । उक्त प्रयत्न ट्रम्पलाई जोगाउन गरिएको मुद्धामा उल्लेख छ । यस विषयमा कोहेनले प्रतिक्रिया दिएका छैनन् । एनबिसी न्युजले क्लिफोर्डले ट्रम्पविरुद्ध मुद्धा दायर गरको सार्वजनिक गरेको थियो ।

राष्ट्रपति निर्वाचनको ठीक एक साता अघि सन् २०१६ मा कोहेनले एउटा नीजि कम्पनी स्थापना गरेका थिए । वाल स्ट्रिट जर्नलले उक्त कम्पनी क्लिफोर्डलाई पैसा तिर्न स्थापना गरिएको जनाएको थियो । गत महिनामात्र कोहेनले क्लिफोर्डलाई पैसा तिरेको स्वीकारेका थिए ।

‘ट्रम्पसँग सम्बन्धित संस्था वा ट्रम्प कसैले पनि क्लिफोर्डलाई पैसा दिएको होइन । मैले दिएको उक्त रकम प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कतैबाट पाएको होइन र छैन ।’ क्लिफोर्डलाई पैसा तिरेको स्वीकार्दै गत फेब्रुअरीमा उनले भनेका थिए ।

नयाँ मुद्धामा कोहेनको उक्त अभिव्यक्तिलाई पनि प्रमाणका रुपमा पेश गरिएको छ । उक्त अभिव्यक्तिले क्लिफोर्डलाई कुनै कानूनी वा लिखित सम्झौता अनुसार पैसा नतिरेको र लिखित सम्झौता नै नभएको अबस्थामा पैसा तिरिनुले कोहेनको परिस्थिति प्रष्ट हुने दायर मुद्धामा जनाइएको छ ।

त्यतिबेला कोहेनले ट्रम्पले क्लिफोर्डसँग सम्बन्ध रहेको ‘ठाडै अस्वीकार’ गर्ने पनि बताएका थिए । उनको यस्तो अभिव्यक्तिलाई पनि उक्त परिवेशमा उनको परिस्थिति झल्काउन प्रमाणका रुपमा पेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू