अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

आर्थिक सशक्तिकरणमा जोड दिन सके महिलाहरू अझ धेरै पहुँचमा पुग्न सक्छन्

इन्दिरा त्रिपाठी २०७४ फागुन २३ गते १३:२९ मा प्रकाशित

मार्च ८ लाई महिला दिवसको रूपमा मनाइने गरेको छ । महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको सङ्घर्षको दिननै ८ मार्च हो | महिला दिवस विश्वका सबै विकसित तथा विकासशील देशहरूमा मनाइन्छ र महिलाहरूलाई उनको क्षमता, सामाजिक अधिकार, राजनीतिक अधिकार वा आर्थिक अधिकार दिलाउने दिनको रूपमा याद गराउने दिन हो । “प्रेस फर प्रोग्रेस्” भन्ने नाराका साथ २०१८ को महिला दिवस मनाईदै छ ।

चाहे नेपालमा होस या विदेशमा आर्थिक सशक्तिकरणले नै महिलाको जीवन स्तर उच्च बनाउन मद्दत पुग्ने र महिलाहरूले नीति निर्माण तहमा पनि पहुँच पुरयाउन सक्छन् | महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने र संस्थागत थप उपलब्धि महिलाहरूले संयुक्तरूपमा सङ्घर्ष गर्नुपर्छ | महिलाको आर्थिक सशक्तिकरण अब पूर्ण रूपमा बढे कुना कुनाका महिलाहरूको व्यवसायमा सहभागिता हुने साथै राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृति हरेक क्षेत्रका विकास र आर्थिक पक्ष सबल हुने अबको तथ्याङ्कले देखाउँछ |

संसारमा कतै पनि महिला पुरुषको शतप्रतिशत समान सहभागिता र अवसरमा पहुँच छैन । समान अवसर र पहुँच नहुनुमा परम्परागत भूमिका, कार्यशैली र कार्यक्षेत्रको निर्धारणले भूमिका खेलेको छ तर सहभागिता र पहुँचको मात्रा भने विकसित मुलुक र विकाशोन्मुख मुलुक बिच अवश्य फरक छ । विकसित मुलुकमा महिला सहभागिता तुलनात्मक रूपमा बढी छ | त्यसैले अहिलेको युगमा महिला र पुरुषको समान सहभागिता बिनाको विकास सम्भव छैन | एक्काइसौ शताब्दीका नारीले आफ्नो शक्तिलाई चिनेका छन् र आफ्नो हक तथा अधिकारको लागि लड्न सिकेका छन् । आजको समयमा नारीले यो प्रमाणित गरेका छन् कि उनीहरू एक अर्काको दुस्मन होइनन्, सहयोगी हुन् ।

महिला दिवसको सुरु मार्च ८ तारिख विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस (International Women’s Day) सम्पूर्ण विश्वको महिलाहरू देश, जात-पात, भाषा, राजनीतिक, सांस्कृतिक भेदभावबाट पर रहेर एकजुट भएर मनाउँछन् । इतिहास अनुसार साधारण महिलाहरूद्वारा समानाधिकारको यो लडाई सुरु गरिएको थियो। लीसिसट्राटा नामक महिलाले प्राचीन ग्रिसमा फ्रेन्च क्रान्तिको अवसर युद्ध समाप्तिको माग राख्दै आन्दोलनको सुरुआत गरे, फारसी महिलाहरूको समूहले वरसेल्समा यस दिन एक मोर्चा निकाल्यो, यसका उद्देश्य युद्धको कारण महिलाहरू माथि बढ्दो अत्याचारलाई रोक्नु थियो।

संसारमा सबै भन्दा पहिलो पटक सन् १९०९ मा सोशलिस्ट पार्टी अफ अमेरिकाद्वारा पुरै अमेरिकामा २८ फरवरीमा महिला दिवस मनाइएको थियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलद्वारा कोपेनहेगनमा महिला दिवसको स्थापना भयो। १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरलैंडमा लाखौँ महिलाहरूले जुलुस निकाले। यस जुलुसमा मताधिकार, सरकारी नोकरीमा भेदभाव हटाउने जस्ता मुद्दाको माग उठाए ।

प्रथम विश्वयुद्धको बेला, रुसी महिलाहरूद्वारा पहिलो पटक शान्तिको स्थापनाको लागि फरवरी महिनाको अन्तिममा महिला दिवस मनाएका थिए। युरोप भरी युद्ध विरोधी प्रदर्शन भयो। १९१७ सम्म रुसका दुई लाख भन्दा धेरै सैनिक मारिए, रुसी महिलाहरूले फेरी पनि रोजगारी र शान्तिको लागि यो दिनमा हडताल गरे। वास्तवमा राजनेता यसको विरुद्ध थिए, फेरी पनि महिलाहरूले आन्दोलन जारी राखे र तब रुसको जारले आफ्नो गद्दी छोड्न बाध्य भयो र सरकारले महिलालाई पनि भोट दिन पाउने अधिकारको घोषणा गर्‍यो ।

नेपालको सन्धर्भमा, आधाभन्दा बढी जनसङ्ख्या ओगट्ने महिला विकासको मूलधार बाहिर रहेपछि देश पनि विकासमा पछाडि पर्नु स्वाभाविक हो । महिलाको सन्दर्भमा महिलाको शिक्षा, स्वास्थ्य, सहभागिता, अधिकारको प्रत्याभूति र राजनीतिक सहभागिता आदि नै विकास हो । महिलाले विकासको प्रतिफलमा मात्र होइन प्रक्रियामा पनि सहभागी हुन पाउनुपर्छ । प्रक्रिया र परिणाम विकासका उत्तिकै महत्त्वपूर्ण पाटा हुन् ।

विगतमा विकास प्रक्रियामा महिलालाई सहभागिता नगराएकै कारण नेपालले विकासमा अपेक्षाकृत फड्को मार्न सकेन । महिलालाई दोस्रो दर्जाको नागरिक मानेका कारण नै विकासमा महिला सहभागिता भएन । सहभागिता नभएका कारण महिलाको सशक्तिकरण पनि भएन । नेपालमा महिलामाथि हुने हिंसाका घटनामा पुरुष यातनाका घटना ४५ प्रतिशत हुने गरेको एक तथ्याङ्कले जनाएको छ ।

आज, समाजमा महिलाले नाटक, डकुमेन्ट्री, फिल्म, गीतको माध्यमबाट ठाउँठाउँमा आफ्नो अवस्था प्रदर्शन गर्ने गरेका छन् । किनकि त्यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् । अन्तर्राष्ट्रिय नारी दिवस सार्थक र औचित्यपूर्ण रूपमा मनाउने हो भने विशेष योजना र कार्यक्रम बनाउनुपर्छ । एक तथ्याङ्कअनुसार प्रतिदिन १० जना महिला हिंसाको सिकार बनेका छन् । प्रत्येक महिना सरदर २५० पचासभन्दा बढी हिंसाका घटना हुन्छन् । २६–५० उमेर समूहका २६ प्रतिशत महिला हिंसाको सिकार बनिरहेका छन् । ओरेकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०१२/१३ मा ७९३ महिला घरेलु हिंसाको सिकार भएका थिए ।

पौराणिक कालमा महिलाहरू शक्तिका रूपमा रहेका र कुनै ठुलो पराक्रम गर्नु पर्‍यो भने देवीहरूलाई गुहार माग्नु पर्ने र उहाँहरूकै पराक्रमले मात्र कुनै पनि काम सम्पन्न भएको कुरा देवी भागवतको अध्ययनबाट प्रस्ट हुन्छ । तैपनि, महिलाहरू आफै म महिला हुँ भन्ने कमजोर सोचका कारण समाजमा विविध अप्रिय घटनाहरू घटिरहेका छन् ।

बिश्वब्यापी एउटा प्रचलित मान्यता छ । जुन, एउटा पुरुष साक्षर बनाउनु भनेको एउटा पुरुष मात्र साक्षर बन्नु हो । तर, एउटा महिला शिक्षित हुनु भनेको सिङ्गो परिवार शिक्षित हुनु हो । यसै सन्दर्भलाई जोड्दा हाम्रो समाजमा अझै पनि महिला शाक्षरता न्यून छ । हरेक समस्याको प्रमुख जड् शिक्षा हो । शिक्षा भएन भने चेतना हुँदैन । चेतना बिना हक अधिकार र कर्तव्यको ज्ञान हुँदैन । चेतनाले नै समग्र स्तर निर्धारण गर्दछ । नेपालमा गरिबीको प्रमुख कारण महिलाहरूको साक्षरताको स्थिति र चेतनाको स्तरमा कमी हुनुहो ।

संयुक्त राष्ट्र सङ्घले हरेक वर्ष महिला दिवसमा एउटा योजना बनाउँछन् । गत वर्ष (सन् २०१७) को योजनाको मूल नारा gender equality planet 50/50 for 2030. महिलाहरू र पुरुषहरू २०३० सम्म समान अधिकार पुर्‍याउनु पर्ने नारा हो भने यस वर्ष (२०१८ ) Press for Progress हो | महिलाहरूको प्रगति अझै बढाउनु पर्दछ भन्ने हो । जसको लागि पुरुषलाई समान सहभागी गराउँदै आर्थिक पक्षलाई जोड दिन सकेमा महिलाहरू हरेक पंहुचमा पुग्न सफल हुनेछन् |

#इन्दिरा त्रिपाठी, महिला संयोजक NRNA USA, –

सम्बन्धित सामग्रीहरू