अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३५ | Colorodo: 14:50

अर्काे महिना उत्तर- दक्षिण कोरिया शिखर बैठक

बिआरटीनेपाल २०७४ फागुन २३ गते ४:०९ मा प्रकाशित

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेताहरुबीच यी दुई देशको शिखर बैठक आगामी महिना हुने बताइएको छ । उत्तर कोरियाको भ्रमणमा गएका दक्षिण कोरियाली राष्ट्रपतिका एकजना विशेषदूतले सो शिखर बैठक आगामी महिना हुने भएको बताउनुभएको हो ।

यी दुई देशबीच विरलै हुने भनिएको एउटा भ्रमण हलै भएको छ । सो भ्रमणबाट फर्केका दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय इनले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले सुरक्षाको सुनिश्चितता हुन्छ भने परमाणुअस्त्र निर्माणको कार्यमा पनि पुनर्विचार गरिने पनि बताउनुभएको जानकारी दिनुभएको छ ।

यस विषयमा पनि सो भ्रमणका क्रममा कुराकानी भएको थियो । परमाणु अस्त्रको उत्पादन र यसले कोरियाली प्रायद्वीपमा पारेको प्रभावका बारेमा पनि त्यस भेटका क्रममा कुराकानी भएको बताइएको छ ।

सो कुराकानीमा सो परमाणु अस्त्रको परित्याग गर्ने बारेमा आगामी दिनमा खुलेरै छलफल गर्न तयार हुन सक्ने संकेत पनि उत्तर कोरियाली नेता उनले दिएको अर्काे एक समाचारमा जनाइएको छ ।

नेता किम र दक्षिण कोरियाली राष्ट्रपति इनका विशेषदूतसहितको प्रतिनिधिमण्डल बीच भएको बैठकपछि यो पछिल्लो समाचार आएको हो । उक्त प्रतिनिधिमण्डल प्योङयाङबाट सोल फर्किसकेको छ ।

पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाउनुभएको हो ।

उत्तर र दक्षिण कोरियाबीच जतिसक्दो चाडो वार्ताको वातावरण तयार पार्न विशेषदूत त्यहाँ पुगेका दक्षिण कोरियाले बताएको छ । त्यस्तै उत्तर कोरियाले सो भेटवार्तालाई महत्वपूर्ण भनेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख युइ–योङ सोमबार उत्तर कोरिया पुग्नुभएको हो ।

उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग सोमबार साँझ भेटवार्ता गर्नुभएको हो । सो भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।

यस खेलकूदको आयोजना पछि यी दुई देशका बीचमा गएको करिब चार वर्षपछि पहिलो पटक उच्चस्तरीय प्रतिनिधिमण्डहरुबीच यस किसीमको भेटवार्ता सुरु भएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू