अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४८ | Colorodo: 08:03

राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

बिआरटीनेपाल २०७४ फागुन २२ गते १७:२९ मा प्रकाशित

नेकपा एमालेको सम्पन्न स्थायी कमिटीको बैठकले भावी राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । करिव आठ घन्टा लगातार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्ष समेत रहनुभएका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेले बनाउने उम्मेदवारले सहज विजय हासिल गर्ने देखिन्छ । उपराष्ट्रपतिमा केन्द्रले उम्मेदवार तोक्नेछ । बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिनुभयो ।

बैठकअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतसँग परामर्श गर्नुभएको थियो । बरिष्ठ नेता खनाल पनि राष्ट्रपतिका लागि चर्चामा आउनुभएको थियो । एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा बहश चलेपनि अन्ततः भण्डारीका पक्षमा निर्णय भएको छ । यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू