अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

लाप्राक नमुना बस्तीका निर्माणाधिन घरहरू लाभग्राहीलाई आवण्टन

बिआरटीनेपाल २०७४ फागुन २२ गते १०:३८ मा प्रकाशित

मार्च ४ का दिन गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट र धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गको समुपस्तिथितिमा लाप्राक नमुना बस्तीका निर्माणाधिन घरहरू कुन लाभग्राहीलाई कुन क्षेत्रको कुन नम्बरको घर पर्ने हो गोलाप्रथा द्वारा निर्धारण गरिएको छ । सङ्घका अध्यक्ष भवन भट्टले एक वर्ष अघि घर निर्माण सम्बन्धी सम्झौता गरेका लाभग्राहीहरुलाई निर्माण कार्यमा सहभागिता गराउन गोलाप्रथा मार्फत उनीहरूको घर छुट्याईएको हो भन्ने बताउनु भयो । साथै उहाँले अब आउने गैर आवासीय नेपाली दिवसको अवसरमा सबै घरहरूको निर्माण सकेर औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेको हुँदा निर्माण कार्यलाई तीव्र पार्नकोलागि समेत स्थानीय सहभागिता बढाउन घर छुट्याईएको हो भन्ने जानकारी गराउनु भयो । यो कार्य आधिकारिक रूपमा घर हस्तान्तरण नभई पुनर्निर्माणमा भूकम्प पीडितको आफ्नोपन होस भनेर छुट्याईएको र पुनर्निर्माणमा आफ्नो घरमा लागग्राहीको थप सहयोग प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्दै सम्पूर्ण निर्माण प्रक्रिया सम्पन्न भएपछि मात्र आधिकारिक रूपमा हस्तान्तरण गरिने बताउनु भयो ।

यसै गरी सङ्घका उपाध्यक्ष सपीला राजभण्डारीले अब आउने गैर आवासीय नेपाली दिवसमा सबै घर निर्माण गरी हस्तान्तरण गरिने योजना रहेको हुँदा निर्माण कार्य सोही अनुरूप तीव्र रूपमा भइरहेको जानकारी दिनु भयो । साथै उहाँले अब सबै लाभग्राहीहरुको प्रमाण चेक जाँच गरी औपचारिक रूपमा घर निर्माण सकिए पछि हस्तान्तरण गरिने जानकारी गराउनु भयो ।

धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ्गले लाप्राक नमुना बस्तीको निर्माणमा गैर आवासीय नेपाली सङ्घले गरेको योगदान प्रति आभार प्रकट गर्नु हुँदै उहाँले निर्माण कार्य समयमै सम्पन्न गर्न स्थानीय वासी र आफ्नो तर्फबाट भरपुर सहयोग रहने र लाप्राक भेदभाव बिनाको एक नमुना बस्ती बन्ने धारणा राख्नु भयो । 

सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितमा गत २०७३ साल वैशाख १२ गतेका दिन लाप्राकमा नपेला सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र गैर आवासीय नेपाल सङ्घको त्रिपक्षीय सम्झौता भएपछि लाप्राकमा निर्माण कार्यको सुरुवात भएको थियो । यसै सन्दर्भमा लाप्राकमा एक वर्ष अगाडी गैर आवासीय नेपाली सङ्घले पुनर्निमार्णाका लागि लाभग्राही सँग भएका काठ, माटो ढुङ्गा र अन्य निर्माण कार्यमा काम लाग्ने सामग्रीहरूका साथै उनीहरूको सहभागिता सुनिश्चित गराउन उनीहरूसँग सम्झौता गरिएको थियो । हाल निर्माणाधीन घरहरू क्लस्टर अनुसार छुट्टाइएको छ ।

यस परियोजनाको निर्माण कार्यमा सहयोग गर्नको लागि नेपाली सेनाको एक टोली नै परियोजना स्थलिभित्र रही कार्यरत रही आएको छ । यस अलावा नेपाल सरकार स्थानीय सरकार र स्थानीय समुदायले यस परियोजना समयमै सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । आजको कार्यक्रममा सङ्घका अध्यक्ष र उपाध्यक्ष, धार्चे गाउँपालिका अध्यक्षको अतिरिक्त नेपाली सेनाको प्रमुख सेनानी चन्दनसिंह थापा, सेनानी गणेशमान सिंह बस्नेत, गैर आवासीय नेपाली सङ्घ मानार्थ समितिका सदस्य सुभाष अधिकारी र सङ्घका प्रमुख कार्यकारी अधिकृत डा हेमन्त दवाडी लगायत स्थानीय जनप्रतनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू