अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

बाग्मतीको पानी खाएर दैनिक गाईका बाच्छा मर्न थालेपछि…

बिआरटीनेपाल २०७४ फागुन २२ गते ६:३० मा प्रकाशित

सडकमा छोडिएका गाईका बाच्छा दैनिक रुपमा दुईदेखि तीन वटा मर्न थालेपछि बाच्छा बचाऊ अभियान शुरु गरिएको छ ।

बाच्छा बचाउन एक दर्जनभन्दा बढीले सहयोग जम्मा गरेका छन् । सोमबार बेलुकी छट्पटाएको बाच्छालाई नून–पानी खुवाएर प्राण भरेर फर्कनुभएका बाग्मती सफाइ अभियन्ता उत्तम पुडासैनीले आज बिहान गुह्येश्वरीमाथिको गोकर्णेश्वर र कागेश्वरी मनोहरा नदी किनारमा मरेको भेटाउनुभयो ।

प्रत्येक दिन नदी किनारमा तीन वटासम्म बाच्छा मरेको भेट्न थालेपछि बचाऊ अभियान शुरु गरिएको उहाँले राससलाई जानकारी दिनुभयो । “छोडिएका बाच्छाले बाग्मतीको पानी खाएर छट्पटाउने र अन्तिममा मर्ने हुँदो रहेछ, बाग्मती प्रदूषित भएर माछा मरेका थिए, गाईका बाच्छा पनि मर्न थाले, अभियानले नजिकका धाराबाट पानी थापी नून हालेर खुवाई बाच्छा बचाउने अभियान शुरु गरेको छ,” उहाँले भन्नुभयो ।

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा गाई पाल्नेले बाच्छा छोडेको अभियानले जनाएको छ । अभियानले दुवै नगरपालिकाका प्रमुखलाई भेटी नगर क्षेत्रमा गाई पाल्नेको लगत संकलन गर्न र बाच्छा छोडे कारबाही गर्न माग गरेको छ । छाड्न नरोकिए बाच्छा जम्मा गरेर दुवै नगरपालिका कार्यालय घेर्ने अभियन्ता पुडासैनीले सुनाउनुभयो । दुवै नगरपालिकाका प्रमुखलाई बाच्छा बचाऊ अभियानमा सहभागी हुन पनि अनुरोध गरिएको छ ।

गौरीघाटमुनिको बाग्मतीमा तीन दिनदेखि मरेको बाच्छाले चार शिवालय क्षेत्र दुर्गन्धित बनेको स्थानीयवासी प्रदीप थापाले बताउनुभयो ।

बाग्मती सफाइ महाअभियानले २५१ हप्ता पार गरे पनि नदीको माथिल्लो तटीय क्षेत्रमै छोडिएका घरपालुवा जनावर मरेर नदी दुर्गन्धित हुन थालेको छ । पशुपति क्षेत्रमै गाईका बाच्छा मरे पनि कुनै निकायको ध्यान जान सकेको छैन । राजधानीमा गाई पाल्नेले बाच्छी भए राख्ने र बाच्छा भए पशुपति क्षेत्रमा ल्याई छोड्ने क्रम बढेको छ । छोडिएका बाच्छाले सडकमा समेत अवरोध गर्ने गरेका छन् ।

पशुपति क्षेत्रमा गौशाला, वनकाली नन्दी संरक्षण स्थलको व्यवस्था भए पनि धेरै संख्यामा बाच्छा छोड्न थालेपछि मर्ने क्रम बढेको हो । यस्ता बाच्छा संरक्षणका लागि थप केन्द्रको आवश्यकता रहेको अभियानले जनाएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू