अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

‘सिमसिमे पानीमा’की गायिका रेखा शाहको सिल्भर जुब्ली साँझ हुँदै

बिआरटीनेपाल २०७४ फागुन २१ गते २०:५० मा प्रकाशित

आफ्नो गायन करियरले २५ वर्ष पुरा गरेको अवसर पारेर गायिका रेखा शाह पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएकी छिन् । यही फागुन २४ गते बिहिबार अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा आयोजना हुने  एकल गायन कार्यक्रममा गायिका शाहले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।

‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा…’ गीत लेखन\संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेकी गायिका रेखा शाह आफ्नो सांगीतिक करियरमै पहिलो पटक एकल गायन कार्यक्रममा प्रस्तुत हुन लागेकी हुन् । उनले स्थापना गरेको सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’ले आयोजना गर्न लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको फाउन्डेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

२०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत गायनमा सिमसिमे पानीमा…ले प्रथम स्थान प्राप्त गरेपछि सांगीतिक क्षेत्रमा स्थापित भएकी गायिका शाह शास्त्रीय संगीतकी विद्यार्थीसमेत हुन् । शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन गरेकी छिन् । ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखू“ भने’ लगायतका उनका गीत चर्चित छन् ।

बिहिबारको एकल गायन कार्यक्रममा गायिका शाहले आफ्नासहित अन्य अग्रज स्रष्टाका करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने छिन् । कार्यक्रममा उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक–गायिकाका कालजयी गीत–गायनमा द लिजेन्ड व्यान्डले वाद्यवादनमा साथ दिनेछ भने युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको दिन कार्यक्रम गर्नुको औचित्यमाािथ प्रकाश पार्दै गायिका शाह भन्छिन्– ‘मार्च महिना नारी विशेष । म अझै जेन्डर स्टडीकी विद्यार्थी । त्यो दिन नारीको सम्मानका निम्ति पनि कार्यक्रम गर्दैछु ।’

कमजोर आर्थिक अवस्था भएका बालबालिकाको शिक्षा–दीक्षामा सहयोग गर्दै आइरहेको उनको फाउन्डेसनले सोही दिन राष्ट्र र समाजको उन्नयनमा योगदान दिदै आइरहेका विभिन्न क्षेत्रका आधा दर्जन नारीहरुलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्नेछ ।

देशव्यापी लोकगायन प्रथम स्थान–रेडियो नेपाल, युवा छिन्नलता गीत पुरस्कार, म्युजिक अनर्स–रेडियो कान्तिपुर, ईमेज, कालिका, अन्नपूर्ण एफएमलगायतका अवार्ड र सम्मान प्राप्त गरेकी शाह अभिनयमा पनि सक्रिय छिन् । आफ्ना गीतहरुमा उनी आफैले अभिनय गर्दै आइरहेकी छिन् ।

प्रतिक्रिया