अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

ओमकुमारी शान्ति कोषलाई जापानबाट रु १२ लाख सङ्कलन

रासस, म्याग्दी २०७४ फागुन २० गते २०:०० मा प्रकाशित

म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषलाई जापानमा रहेका म्याग्देलीले रु १२ लाख सहयोग जुटाएका छन् । विपन्न परिवारका बिरामी व्यक्तिको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको रु एक करोड ५० लाख रकमको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) जापानको पहलमा सो रकम सङ्कलन भएको हो ।

मोना जापानको आयोजनामा टोकियोमा आइतबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घार घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका ददीलाल खड्काले व्यक्तिगत रूपमा रु दुई लाख १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । जापानमा सफल व्यवसायीका रूपमा चिनिँदै आउनुभएका समाजसेवी खड्काले ओमकुमारी शान्ति कोषले जिल्लामा रहेका आर्थिक विपन्नतामा परेका व्यक्तिको उपचारमा सहयोग पु¥याउन स्थापना गर्न लागेको अक्षयकोषमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो ।

सो क्रममा मोना जापानका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समेत अक्षयकोष स्थापनार्थ रु एक लाख ११ हजार सहयोग गर्ने घोषणा गर्नुभएको थियो भने यसअघि मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले रु ५२ हजार सहयोग प्रदान गरिसक्नुभएको छ ।

अक्षयकोष निर्माणका लागि प्रवासमा रहेका म्याग्देलीमार्फत सहयोग जुटाउने अभियान लिएर जापानमा पुग्नुभएका ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानको पहलमा टोकियो र नागोयामा आयोजित कार्यक्रममा प्राप्त सहयोगले उत्साहित बनाएको बताउँदै सहयोगदातालाई आधारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ । ओमकुमारी शान्ति कोषको अक्षयकोषमा अहिलेसम्म रु ९० लाख बोलिएको रकममध्ये ५२ लाख नगद सङ्कलन भइसकेको कोषले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू