अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 13:34

कोलोराडोमा होली सम्पन्न (फोटो फिचर सहित)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ फागुन १९ गते १७:४३ मा प्रकाशित

एकापसमा रङ्ग र अबिर दलेर होली पर्व उत्साहका साथ मनाउने गरिन्छ । नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष ब्राइटनस्थित सनातन मन्दिरमा धूमधामसँग मनाए । नेपाली घरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा पुरुषको ठुलो सहभागिता रहेको थियो । नेपाली घरका महासचिव निर्मल श्रेष्ठले सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष लछुमन राणाले आउने सम्पूर्ण दाजु भाइ दिदी बहिनी पत्रकार, बुद्धिजीवी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलाई धन्यवाद दिएका थिए । त्यसपछि मन्दिरका पूजारी जीवन बरालबाट होली सम्बन्धी विशेष पूजा गरेका थिए । बिहान १२ बजे देखी सुरु भएको कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन भएको थियो ।

उपस्थित सबैले एक अर्कामा रङ्ग दल्दै एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए । होली खेल्नेहरुमा कोलोराडोबासी आम नेपालीहरूका अतिरिक्त विभिन्न सामाजिक संस्थाका पदाधिकारी, कलाकार र संचारकर्मी थिए । अन्त्यमा कार्यक्रमको आयोजक ‘नेपाली घर’ले उपस्थित हुने सबैको लागि भोजन-प्रसादको व्यवस्था गरेको थियो । 

फागुन पूर्णिमाको भोलिपल्ट असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा यो पर्व मनाइने गरिन्छ । हिन्दुको धार्मिक ग्रन्थमा उल्लेख गरिएका अनुसार, हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लाद भगवान् विष्णुको भक्त भएको कारण उनलाई ज्यान मार्न अनेकौँ उपाय गरेका थिए । 

उनलाई बच्चाउनको लागि उनकी बहिनिले आगोबाट पनि नजल्ने भगवानबाट पाएको वरदानको फाइदा उठाएर होलिकाले बालक प्रह्लादलाई काँखमा राखी चारैतिरबाट दाउराका साथै तीव्र गतिमा जल्ने वस्तुमाथि बसिन् । ती वस्तुमा आगो लगाएपछि भगवान् विष्णुको कृपाले प्रह्लादलाई केही भएन र होलिकाको जलेर मृत्यु भएको थियो । फागुनपूर्णिमाको दिन यो घटना भएको थियो । मुलुकको पहाडी भेगमा फागुन पूर्णिमाको दिन होली खेलेर बेलुकी होलिका दहन गर्छन् भने तराईमा फागुन पूर्णिमाको बेलुकी होलीका दहन गरेर बिहान होली पर्व मनाउने गरिन्छ ।

होली कार्यक्रम सुरु हुनु भन्दा अगाडि नेपाली घरका अध्यक्ष लछुमन राणाले अप्रिल महिनाको २७ तारिख देखी सुरु हुने भागवद्पुराण कार्यक्रमको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको लागि कोल्फ्याक्स र हावानाको कर्नरमा भएको इभेन्ट सेन्टरमा तय भएको छ भने अन्य पूर्ण जानकारी पछि चाडै नै उपलब्ध गराउने छन् । त्यसै अवसरमा नेपाली घरका संस्थापक सदस्य राजेन्द्र शर्माले नेपाली समुदायिक घर कोलोराडोमा बनाउनको लागि दिनको एक डलर अभियान सुरु गर्नु पर्छ भनेर त्यो अभियानको सुरुवात मबाट गर्दैछु भनेर मार्च महिनाको ३१ डलरको चेक नेपाली घरका कोषाध्यक्ष जगदिश ढकाललाई हस्तान्तरण गरेका थिए ।

फोटो: शैलेश पोखरेल 

गत बर्षको होलीको समाचार

प्रतिक्रिया