अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

विराटनगरमा ‘होली’ पर्व

रासस, विराटनगर २०७४ फागुन १८ गते १४:३९ मा प्रकाशित

एकापसमा रङ्ग र अबिर दलेर आज बिहानैदेखि मोरङलगायत तराईका जिल्लामा होली पर्व उत्साहका साथ मनाइदैँछ ।

सो पर्वको अवसरमा विराटनगरका विभिन्न ठाउँमा एकापसमा रङ्ग र अबिर दलेर उत्साहका साथ यो पर्व मनाइरहेको देखिन्छ । विराटनगरका कतिपय ठाउँमा पर्व मनाउनका लागि विशेष आयोजना पनि गरिएको छ ।

नेपाल पत्रकार सङ्घ मोरङको परिसरमा पत्रकार एकापसमा रंगअबिरका साथ यो पर्व मनाइरहेका छन् । त्यस्तै, विराटनगर महानगरपालिकालगायत विभिन्न संस्थामा पनि पर्व मनाउन विशेष व्यवस्था गरिएको छ ।

यस पर्वको अवसरमा खास गरी मालपूवा पकाउने गरिन्छ । कतिपय व्यक्तिले आज मासु अनिवार्य रूपमा खाने गर्छन् । सोही कारणले आज विराटनगरका दर्जनौँ ठाउँमा खसीको मासु बिक्रीका लागि राखिएको देखिन्छ ।

फागुन पूर्णिमाको भोलिपल्ट असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा यो पर्व मनाइने गरिन्छ । हिन्दुको धार्मिक ग्रन्थमा उल्लेख गरिएका अनुसार, हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लाद भगवान् विष्णुको भक्त भएको कारण उनलाई ज्यान मार्न अनेकौँ उपाय गरेका थिए ।

पहाडबाट फाल्ने, हात्तीको खुट्टाबाट कुल्चेर मार्नेलगायतका तरिका असफल भएपछि बहिनी होलीका सहयोगमा छौँ प्रह्लादलाई मार्ने खोजेको थियो । होलिकाले कहिले पनि आगोमा नजल्ने वरदान ब्रह्माबाट प्राप्त गरेकी थिइन् ।

सोही वरदानको फाइदा उठाएर होलिकाले बालक प्रह्लादलाई काँखमा राखी चारैतिरबाट दाउराका साथै तीव्र गतिमा जल्ने वस्तुमाथि बसिन् । ती वस्तुमा आगो लगाएपछि भगवान् विष्णुको कृपाले प्रह्लादलाई केही भएन र होलिकाको जलेर मृत्यु भएको थियो ।

फागुनपूर्णिमाको दिन यो घटना भएको थियो । मुलुकको पहाडी भेगमा फागुन पूर्णिमाको दिन होली खेलेर बेलुकी होलिका दहन गर्छन् भने तराईमा फागुन पूर्णिमाको बेलुकी होलीका दहन गरेर बिहान होली पर्व मनाउने गरिन्छ ।

Photo: Merryland College Biratnagar

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू