अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 15:40

रङ्ग, यौन र महिला लक्षित गीत गाउँदै भक्तपुरमा फागु

लक्ष्मी गारु, भक्तपुर २०७४ फागुन १६ गते २३:०५ मा प्रकाशित

फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै सुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेस क्षेत्रमा भोलि धूमधामले मनाउँदै छन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग दलेर, आपसका वैरभाव बिर्सेर खुसी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ ।

भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा भीमसेनको लिङ्गको प्रतीक तीन हात लामो र तीस इन्च गोलाकारको लिङ्ग आकारको काठ प्रदर्शनसँगै सुरु हुने फागुपर्वलाई विशेषगरी यौनरस युक्त र महिलालाई लक्षित गरी गीत गाउने तथा व्यङ्ग्य गर्ने चाडका रूपमा बेग्लै रौनक र तरिकाले मनाइने गरिन्छ । लिङ्गसँगै यौन समागमको दृश्य झल्कने गरी रातो कपडाको बिचमा प्वाल पारी काठको लिङ्ग प्रवेश गराइएको हुन्छ भने यस दृश्यलाई भीमसेन र द्रौपदीको यौन समागमका रूपमा लिइन्छ ।

भक्तपुरमा बिहानैदेखि टोलटोलबाट परम्परागत बाँसुरी बाजा, धिमेबाजा बजाउँदैं गीत सङ्गीतसहित महिला–पुरुष एकअर्कालाई जिस्काउँदै नाचगानसहित फागु पर्व मनाउने गर्दछन् । होलीका नेवारी परम्परागत लोकभाका र गीतसंगीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फुलहरू फुल्न थालेसँगै मानिसको मन मस्तिष्क समेतमा एक खालको तरङ्ग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्हरुको भनाइ रहेको छ ।

होलीया मेला, मय्जू मस्युला ! अबिर भचाः नः, तये मज्युला ! ‘होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र ?’ अर्थको योे गीत नेवारी समाजमा फागु पर्वको चर्चित र सर्वाधिक लोकप्रिय गीत हो । नेवारी समुदायमा लोकप्रिय र प्रख्यात यस गीतले फागु अर्थात् होली पर्व महिला लक्षित चाडका रूपमा व्याख्या गर्दछ । त्यसै गरी झ्या दकंः तुँकंः मा, व हे ल्यासे जित मा, व ल्यासे मदेकः जा हे मनया अर्थात् ‘झ्याल भरी तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न’ भन्ने बोलले पनि होली विशेषगरी महिला लक्षित चाड पर्व भएको पुष्टि हुन्छ ।

“सत्रौँ शताब्दीदेखि नै कृषि पेसामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र मानिस फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौनरसयुक्त सङ्गीत गुञ्जने गरेको हो,” संस्कृतिकर्मी ओम धौभडेल भन्नुहुन्छ । फागुमा यौन भावयुक्त गीत गाउने प्रचलन भए पनि फागु पर्व अश्लील पर्व भने नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “फागुलाई नितान्त सांस्कृतिक, विशुद्ध मनोरञ्जनपूर्ण र जीवन्त संस्कृतिका रूपमा लिनु पर्दछ ।” फागु पर्वले मानिसमा विद्यमान भेदभावको अन्त्यको सन्देश दिने उल्लेख गर्दै संस्कृतिकर्मी धौभडेलले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङ्गमा रंगिने र सबैले खुसीको रङ्ग साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताउनुभयो ।

यसै गरी, अर्का संस्कृतिविद् एवम् इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले प्राचीनकालमा समाज पुरुष प्रधानका रूपमा विकास भएसँगै महिलालाई शृंगारको प्रतीकका रूपमा लिने र महिलालाई यौन चाहना पूरा गर्ने साधनका रूपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्षित गीतसंगीत गुञ्जने गरेको बताउनुहुन्छ । भक्तपुरको तचपालमा गाडिने चीरसँगै भीमसेन र द्रौपदीको यौन समागमको प्रतीकस्वरुप काठको लिङ्ग र बिचमा प्वाल परेको रातो कपडा प्रदर्शनमा राखिनुले पनि होली महिला र यौन केन्द्रित पर्व भएको पुष्टि हुने श्रेष्ठ बताउनुहुन्छ ।

दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रंगाउने पर्वका रूपमा प्रचलित फागु पर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोल–छिमेक परिक्रमा गर्ने परम्परा समेत रहेको छ ।

युगौँदेखि मनाइँदै आएको हर्ष र उल्लासको पर्व फागुलाई अहिलेका युवापुस्ताले पर्वको महत्त्व बुझ्न नसक्दा समाजमा फागु पर्व सामाजिक विकृतिका रूपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रंगी–विरंगी रङ्ग एकआपसमा लगाएर वातावरणलाई नै रंगमय बनाई बडो हर्सोल्लासका साथ मनाइने फागु पर्वलाई युवापिँढीले गर्ने उच्छृङ्खल क्रियाकलापका कारण यो पर्व त्रासको पर्वका रूपमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । “मदिरा सेवन गरेर छाडा शब्द प्रयोग गर्ने, जबर्जस्ती अरूलाई अबिर दल्ने र लोला हान्ने प्रवृत्तिले फागु त्रासको पर्वका रूपमा विकास भएको छ,” उहाँले भन्नुभयोे ।

शास्त्र अनुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रल्हाद असाध्यै विष्णुभक्त थिए । उनको विष्णुभक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रल्हादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछन् । तर प्रल्हादलाई केही हुँदैन ।

हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रसन्न भएर अग्निदेवले आगोले छुन नसक्ने वरदान दिएका थिए । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रल्हादलाई अग्निमा दहन गर्ने योजना बनाउँछन् । सो योजनाअनुसार होलिका प्रल्हादलाई काखमा राखी अग्निमा बस्दछिन् तर प्रल्हादको सच्चा भक्तिले गर्दा होलिकाको जलेर मृत्यु भएको तर भक्त प्रल्हादलाई आगोले छुन नसकेको खुसीयालीमा होली पर्व मनाउन थालिएको कथन रहेको पाइन्छ ।

भक्तपुरमा फागु पूर्णिमाका दिन साँझपख सो लिङ्गलाई एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुति पनि रहेको पाइन्छ । रासस

Photo Source: http://www.olgafinearts.com

प्रतिक्रिया