अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

१० दिने एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन काठमाडौंमा सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन १६ गते १०:१७ मा प्रकाशित

दश दिन लामो एसिया प्रशान्त क्षेत्रीय प्रविधि सम्मेलन बुधबार सम्पन्न भएको छ ।इन्टरनेट तथा नेटवर्क इन्जिनीयर, प्रविधिसम्बन्धी नीति निर्माता र विश्वका चर्चित गुगल, फेसबुक, अमाजोन जस्ता प्रविधिज्ञ कम्पनीको सहभागितामा सम्मेलन सम्पन्न भएको हो ।

नेपालमा पहिलो पटक आयोजना भएको यो सम्मेलनमा चार दर्जन देशबाट एक हजारभन्दा बढीले सहभागिता जनाएका थिए ।

सम्मेलनमा इन्टरनेट तथा नेटवर्क प्रविधिमा पहिल्लो समयमा आएका परिवर्तन र भविष्यमा आउने प्रविधिको विषयहरूमा बहस भएको थियो ।

नेपालबाट वायरलेस नेटवर्कका अभियन्ता महावीर पुनले आफ्नो पछिल्लो परियोजना ‘नेपाल इनोभेसन सेन्टर’बारे प्रस्तुति दिनुभएको थियो । सेन्टरले ‘मेडिकल ड्रोन’, पानी प्रशोधन प्रविधि र तीनपाङ्ग्रे ट्याम्पोको ब्याट्री मर्मतका लागि काम शुरू गरिसकेको बताउँदै पुनले थप परियोजनामा सहकार्यका लागि विज्ञलाई आह्वान गर्नुभयो ।

सम्मेलनकै अवसरमा चर्चित क्लाउड कम्पनी ‘क्लाउड फ्लायर’ले नेपालमा आफ्नो डाटा सेन्टर शुरू गरेको घोषणा गरेको छ । उक्त कम्पनीले भारतपछि दक्षिण एसियामा नेपालमा यस्तो सेन्टर स्थापना गरेको हो । यस्तो डाटा सेन्टरको सञ्चालनले नेपालमा इन्टरनेट ब्राउजिङ सेवा थप छरितो हुने र ‘इन्टरनेट ब्यान्डविथ’का लागि विदेशिने लागत न्यून हुने छ ।

एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्त नेटवर्क सूचना केन्द्र (एपिनिक) ले इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा सम्मेलनको आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू