अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

गैँडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला हुने

बिआरटीनेपाल २०७४ फागुन १४ गते २१:०८ मा प्रकाशित

गैँडाकोट । “धेरै हेरियो राष्ट्रिय मेला, यसपालि हेरौँ अन्तर्राष्ट्रिय मेला” भन्ने मूल नाराका साथ नवलपरासीको गैँडाकोटमा पहिलो पटक अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला २०७४ हुन लागेको छ ।

सांस्कृतिक विविधताको आदान प्रदान र प्रचार प्रसारले नेपालको पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले मेलाको आयोजना गरेको हो ।

मेलामा बङ्गलादेश, कोष्टारिका, स्टोनिया, ग्रिस, भारत, नेपाल, इन्डोनेशिया, इजरायल, इटली, मलेसिया र टर्की गरी ११ देशका २०० भन्दा बढी कलाकार र नेपालका थुप्रै चर्चित कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

यही फागुन १८ गते काठमाण्डौमा उद्घाटन भई भक्तपुर, धादिङ्ग हुँदै २१ गते गैँडाकोटमा आएर समापन गर्ने तालिका बनाइएको मेला आयोजक समितिका निर्देशक दुर्गा रायमाझीले जानकारी दिनुभयो ।

मेलाको सह आयोजक सहयात्रा नेपालका अध्यक्ष समेत रहनु भएका रायमाझीले प्राकृतिक दृष्टिकोणले आकर्षक रहेको गैँडाकोटको नारायणी तिरमा हुन लागेको मेलाले गैँडाकोट—चितवन क्षेत्रको पर्यटन विकासमा कोसेढुंगा साबित हुने बताउनु भयो ।

मेला आयोजना गर्न स्थानीय जनप्रतिनिधिसहितका सरोकारवालाहरुको उल्लेख्य सहयोग रहेको मेलाका स्थानीय संयोजक दीपक खड्काले जानकारी दिनुभयो ।

आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले अहिले सम्म करिब ६५ भन्दा बढी देशमा नेपालको लोक संस्कृति प्रस्तुत गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू