अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

देउवामाथि पौडलको प्रश्‍न: गुट संरक्षक बन्ने बाहेक के गर्नुभयो ?

बिआरटीनेपाल २०७४ फागुन १४ गते १८:४८ मा प्रकाशित

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्।

कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा राख्दै पौडेलले सभापति देउवामाथि पार्टीका सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याएको समेत आरोप लगाएका छन्।

पार्टीको १३ औं महाधिवेशन लगत्तै आफूले देउवालाई भेटेर समूहको संरक्षक नभई सिंगो कांग्रेसको नेता बन्न आग्रह गरेको स्मरण गर्दै पौडेलेले भनेका छन्, ‘कांग्रेसको नेता हुन देउवाजी तपाईं तयार हुनु भएन। परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुगेको छ। पार्टीको सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याउँदै आफू र आफ्नो गुटको संरक्षक बन्ने बाहेक अन्य के गर्नुभयो।’

तपाईंको नेतृत्वले आफ्नो गुट मजबुत बन्यो होला तर, बिचरा कांग्रेस झन्झन् दुर्बल बन्दै कम्युनिस्टलाई सत्ता सुम्पिन बाध्य भएको आरोप पौडेलले लाए।

कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत अपजसको भारी बनेको भन्दै पौडेलले आक्रोश पोखे।

चुनावमा कांग्रेस हार्नुको मुख्य कारण कांग्रैस नै रहेको दाबी गर्दै पौडेलले भनेका छन्, ‘सातमध्ये एउटै प्रदेशमा पनि सत्ता नेतृत्व किन गर्न सकेन। कांग्रेस हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ। यसको जिम्मेवार देउवाले दिनैपर्छ।’

कांग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षी भए पनि सरकारका गलत निर्णय सच्याउन दबाब दिने बलसम्म नहुँदा निरीह बनेर संसद्मा बस्नुको विकल्प नरहेको उनको तर्क छ।

चुनाव पराजयमा पार्टी सभापतिले नैतिक जिम्मेवारी नलिनु आपत्तिजनक कुरा हो भन्दै पौडेलले भनका छन्, ‘अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसक्यो।’

उनले देउवासमक्ष तत्काल महाधिवेशन आह्वान गर्न पनि आग्रह गरेका छन्। महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्रअनुरूप विधान बनाउन र १४ औं महाधिवेशनमा तत्काल जान देउवालाई आग्रह गरेका छन्।

पौडेलले जम्बो मन्त्रिपरिषद्को गठन, प्रधानन्यायाधीशमाथिको महाअभियोगदेखि आईजीपी प्रकरण, राजदूत नियुक्तिलगायतमा आफ्नो सुझावलाई बेवास्ता गरेको परिणाम कांग्रेस निर्वाचनमा पराजित भएको आरोप लगाए ।  आजको अन्नपूर्ण पोष्टमा खबर  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू