अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

कतारमा हुने बुम कुमारी सुपरस्टार नाइटको तयारी हुँदै

प्रदिप कार्की, कतार २०७४ फागुन १२ गते २२:३५ मा प्रकाशित

नेपाली कला, संस्कृति र साङ्गीतिक क्षेत्रलाई अझ फैल्याउने उदेश्यका साथ आउँदो मार्च ९ मा कतारमा हुने भव्य साङ्गीतिक कार्यक्रम ‘बुम कुमारी सुपरस्टार नाइट’ को तयारी भव्य रूपमा भइरहेको बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तले जनाएका छन् । उनी कार्यक्रमको तयारी गर्नको लागि कतारमै छन् । कुमारी बैङ्क र बुम रेमिटको आयोजनामा हुने यस इभेन्टलाई यसअघि नै यूएइमा २ पटक ‘नेपाली म्युजिक भिडियो अवार्ड’ आयोजना गरिसकेको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालि म्यानेज गरिरहेको छ । 

‘कतारबासि नेपाली कार्यक्रमको पर्खाइमा हुनुहुन्छ’ कतारमा रहेका धिरेन्द्र भन्छन् ‘यसले आपसी मितव्ययितासंगै कला र संस्कृतिलाई समेत फैल्याउछ ।’ उनले कतारबासी नेपालीबाट पाएको प्रतिक्रियाले आफू हर्षित भएको बताएका छन् । कार्यक्रममा हाँस्यकलाकार जितु नेपालको वेजोड कमेडी प्रस्तुति रहनेछ भने नायिकाहरू निरुता सिंह, अनु शाहले नृत्य प्रस्तुत गर्नेछन् । गायकहरू अनिल सिंह, युवराज चौलागाई, सन्तोष राज, रीत कुमार श्रेष्ठले दर्शकलाई आफ्नो गायकीको माध्यमबाट झुमाउनेछन् भने गायक तथा सङ्गीतकार राजनराज शिवाकोटीले पनि आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गर्नेछन् ।

गायिकाहरू राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवरको साथमा नृत्य निर्देशक तथा मोडल शङ्कर बिसीले आफ्नो प्रस्तुतिको माध्यमबाट स्टेज तताउनेछन् । कलाकारहरू पनि कार्यक्रमलाई लिएर निकै उत्साहित छन् । ’एम्पी थिएटरमा पहिलो पटक प्रस्तुति दिँदै छु’ गायक अनिल भन्छन् ’कतारबासि नेपालीलाई नचाउने तयारी गरिसकेको छु ।’ अनिल मात्र होइन जितु पनि हँसाउन तयार छन् ।

यो टोलिसंग जाँदै गर्दा छुटै रमाइलो अनुभूति भइरहेको छ’ जितु भन्छन् ’यस पटक एम्पी थिएटरको लागि खास कमेडी छ ।’ यी कलाकारले भिडियो मार्फत दोहामा रहेका नेपालीलाई कार्यक्रम बारे जानकारी पनि गराइसकेका छन् । यसै गरी राधिका हमाल भने लोक दोहोरी गीत मार्फत नचाउँने तयारीमा छिन गायक युवराज पनि आधुनिक तथा फिल्मको आफ्नो हिट नम्बरलाई त्यहाँ प्रस्तुत गर्ने तयारीमा छन् । यसै गरी पछिल्लो समय सुर्के थैली खै हुँदै कुटुमा कुटुसम्म आइपुग्दा लोकप्रिय भइसकेका गायक तथा सङ्गीतकार राजनराज शिवाकोटी पनि एम्पी थिएटरमा पहिलो पटक प्रस्तुति दिने तयारीमा छन् । 

’कतार त धेरै पटक आए तर एम्पी थिएटरमा पहिलो पटक आउदैछु’ राजन भन्छन् ’मेरो चर्चित गीतले उपस्थित दर्शकलाई नचाउने छु भने केही सप्राइज पनि छन् ।’ कार्यक्रमलाई लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईले सञ्चालन गर्नेछन् । ‘यस पटक कतारमा रहेका नेपालीको लागि हामीले मनोरन्जनात्मक प्याकेजनै लग्दै छौ’ नरेश भन्छन् ‘ तपाइको समय र पैसाको सदुपयोग हुनेमा दुईमत छैन ।’

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिका प्रमुख मनोज केसीले यसपटकको कार्यक्रम विशेष हुने र दर्शकले पूर्ण रूपमा मनोरञ्जन प्राप्त गर्ने दाबी गर्छन् । ‘हामीलाई कलाकारले पनि साथ दिनु भएको छ अनि हामीलाई विश्वास गरेर आउने दर्शकलाई कहीँ कतै बोर हुन् नदिने तयारी हाम्रो छ’ मनोज भन्छन् ‘अघिल्ला कार्यक्रमको अनुभवले यसलाई परिपक्व बनाउन थप मदत पुगेको छ ।’ कार्यक्रम मार्च ९ मा दोहा स्थित एसियन टाउन एम्पी थिएटरमा हुनेछ । कार्यक्रमको गेट ४ बजे खोलिनेछ भने सुरु ६ बजेबाट हुने जनाइएको छ । टिकेट प्राइज कतार रियाल ४० , १०० र १५० राखिएको छ ।

प्रतिक्रिया