अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१६ | Colorodo: 03:31

६५ देश सहभागी सूचना प्रविधिको महासम्मेलनले काठमाडौंका पाँच तारे होटल भरिभराउ

अमेरिकाबाट पनि ८० प्रतिनिधी सहभागी

बिआरटीनेपाल २०७४ फागुन १२ गते ७:१६ मा प्रकाशित

एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) मा सहभागी हुन विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि यतिखेर काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा ६५ देशका इन्टरनेटको पृष्ठभूमीमा बसेर काम गर्ने प्रतिनिधिको सहभागीता छ ।

सूचना प्रविधि क्षेत्रको यस मेगा इभेन्टमा सहभागी हुन फेसबुक, गुगल लगायतका ठूला कम्पनीका प्रनिधिधिसमेत नेपाल आएका छन् । पर्यटन र सूचना प्रविधिका क्षेत्रमा दुरगामी प्रभाव पार्ने यस्तो ठूलो इभेन्ट नेपालमा गर्न कसरी सम्भव भयो त ?

सहभागी एशिया प्यासिफिक इन्टरनेट एसोसिएसन (एपिआइए)ले २२ बर्षअघि एप्रिकट सुरु भएको हो । सन् २००२ मा नेपालबाट इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स) का गौरव उपाध्याय सहभागी हुँदै आएका थिए । एनपिआइएक्स नेपालमा स्थापना गर्दा एपिआइएले समेत सहयोग गरेको थियो ।

उनलाई त्यतिखेरै लागेको थियो, कुनै दिन यस्तो सम्मेलन नेपालमै गर्नु पर्छ । उनले केही बर्षदेखि यसका लागि लविङ गर्दै आएका थिए ।  पहिले एप्रिकट गर्न विडिङ गर्नुपथ्र्यो । नेपालमा १ हजार जनाभन्दा बढी सहभागी हुने कार्यक्रम पाँचतारे होटलमा गर्न स्रोत जुटाउन सम्भव थिएन ।

एक पटक गौरव एप्रिकटको बोर्डमा पुगे । त्यतिखेर उनले आफ्नो जस्तो अल्पविकसित मुलुकमा समेत यस्तो महासम्मेलन गर्नु पर्ने प्रस्ताव गरे ।

नेपाल यस्तो महासम्मेलन गर्न सक्षम छ भन्ने देखाउन उनीहरुले करिव ३ सय जना सहभागी हुने साउथ एसियन नेटवर्क अपरेटर्स ग्रुप (सानोग) को सम्मेलन आयोजना गरे । त्यति बेला एपिआइएका प्रतिनिधिलाई यहाँको अबस्था बुझ्न निम्त्याए ।

‘हामीले ३ सय जना सहभागी कार्यक्रम सफलतापूर्वक गरेर देखाएपछि उनीहरुले पत्याए,’ उपाध्यायले भने, ‘त्यसपछि दुई बर्षअघि न्युजिल्याण्डामा भएको कार्यक्रममा एप्रिकट नेपालमा गर्ने भनेर घोषणा गरिएको थियो ।’

नेपालमा हुने घोषणापछि आफूहरुले २ बर्षदेखि सम्मेलनको तयारी गरेको उपाध्यायले बताए । ‘हामीले याक एन्ड यति होटलको स्वरुपसमेत परिवर्तन गर्न आग्रह गर्यौं,’ उपाध्यायले भने, ‘होटलमा ¥याम्प, एक्जिटको साइनेट लगायतका कुुराहरु यही सम्मेलनलाई लक्षित गरेर राखिएका हुन् ।

नेपालमा भएको सम्मेलन नेपाली आइटी क्षेत्रका सहभागीलाई ठूलो अबसरका रुपमा आएको छ । त्यसैले २ सय डलर दर्ता शुल्क तिर्नु पर्ने सम्मेलनमा नेपालबाट २ सय ५० भन्दा बढीले सहभागिता जनाएका छन् । ‘विदेश जानु पर्ने भए लाखौं रुपैयाँ खर्च गर्नु पर्छ’, उपाध्यायले भने, नेपालमै यत्रो ठूलो कार्यक्रम हुनु सबैका लागि अबसर हो ।’

सम्मेलनमा १ सय ५० जना बंगलादेशी, ८० जना अमेरिकी, त्यतिकै संख्यामा भारतीय लगायत ६५ देशका प्रतिनिधि सहभागी छन् ।

फेसबुक, गुगलजस्ता जाइन्ट कम्पनीका प्रतिनिधिसमेत सहभागी भएकाले यो महासम्मेलन नेपालीहरुलाई नेटवर्क विस्तारका लागि सहायक सिद्ध हुने उपाध्यायको दावी छ ।

सम्मेलनमा आएका विदेशी प्रधिनिधिको खर्चले नेपालको पर्यटन प्रबर्धनमा समेत  ठूलो सहयोग पुगेको छ । यतिखेर पाँच तारे होटलहरु याक एन्ड यती, अन्नपूर्णा, र्याडिसन तथा ठमेल क्षेत्रका पर्यटकीय होटलहरु एप्रिकटमा सहभागी हुन आएका प्रतिनिधिले भरिभराउ छन् ।

‘विदेशका ७ सय प्रतिनिधि औषतमा ५ दिन बस्दा ३५ सय दिन हुन्छ,’ उपाध्यायले भने, ‘औषतमा उनीहरुले दिनको १ सय डलर खर्च गर्दा ३ लाख ५० हजार डलर (करिव ३ करोड ५० लाख रुपैयाँ) खर्च गर्छन् ।’ उनले होटलमा आयोजकले गर्ने खर्च पनि करोडौं हुने उनको दावी छ ।
नेपालमा यति बृहद् सम्मेलन गर्न सकेकामा इन्टरनेट एक्स्चेन्ज नेपाल (एनपिआइएक्स) का अध्यक्ष उपाध्याय मख्ख छन् । ‘हामीले यति ठूलो सम्मेलन सफलतापूर्वक गर्न लागेको छौं,’ उनले भने, ‘यसले बीदेशीहरुबीच नेपालको बारेमा सकारात्मक सन्देश प्रवाह हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू