अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई सर्पसँग तुलना गरेपछि…

बिआरटीनेपाल २०७४ फागुन १२ गते ६:५३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई ‘द स्नेक’ नामक चर्चित गीतको सर्पसँग तुलना गरेका छन् । उनले शुक्रबार सार्वजनिक समारोहमा आप्रवासी र सर्पलाई तुलना गरेका हुन् ।

द स्नेक नामक गीत स्वर्गीय ओस्कर ब्राउन जेआरले लेखेका हुन् । गीत एउटा कथामा आधारित छ जसअनुसार काम सकेर घर फर्किँदा एउटी महिलाले बाटोमा चीसोले कठ्याङ्ग्रिएर मर्न लागेको सर्प भेट्छिन् । ती महिलाले सर्पलाई घरमा ल्याउँछिन् र उपचार गर्छिन् । स्वस्थ भएपछि त्यो सर्पले महिलालाई डस्छ । ती महिलाको मृत्यु हुन्छ ।

‘कसैले द स्नेक सुन्नु भएको छ ?’ ट्रम्पले समारोहमा सहभागीलाई सोधे, ‘यो गीतलाई आप्रवासनसँग जोडेर हेर्नुहोस् । त्यो कति भयंकर छ ? तपाईँ पनि यसै भन्नुहुन्छ ? भने पनि कसलाई के मतलव ।’ ट्रम्पले यसो भन्दा तालीको गडगडाहट आएको थियो ।

सन् २०१६ मा चुनावी दौडमा ट्रम्पले यो कथा पटक पटक दोहोर्याएका थिए । त्यसले उनको समर्थकहरुबाट तालीको गडगडाहटसहित समर्थन पाएको थियो । ब्यबसायीबाट राजनीतिज्ञ बनेका ट्रम्प आप्रवासीप्रति कडा नीति राख्छन् । आप्रवासन रोक्न अमेरिका–मेक्सिको सीमा पर्खाल लगाउने उदेश्य लिएका ट्रम्पले एक पटक मुश्लिम आप्रवासीलाई अमेरिका छिर्न दिने काम स्थगन गरेका थिए ।

यो गीत ट्रम्पले आप्रवासी विरुद्ध लामो समयदेखि प्रयोग गर्दै आएका छन् । उनले सुरुमा सिरियाली शरणार्थी विरुद्ध यो गीत प्रयोग गरेका थिए । तर शुक्रबारको प्रसङ्ग भने फरक थियो । उनले सबै आप्रवासीलाई गीतको सर्पसँग तुलना गरेका थिए । उनले कथा सुरु गर्नु ठीक अघि भनेका थिए, ‘आप्रवासन ।’

यसअघि उनले यहि कथा राष्ट्रपतिको कार्यभार सम्हालेको एक सय दिन पुगेको अबसरमा ह्यारिसवर्ग, पेन्सिल्भानियामा भनेका थिए ।

यो गीतको प्रयोग भने विवादमा परेको छ । सन् २००५ मा मृत्यु भएका गीतकार ब्राउनले सन् १९६३ मा लेखेको यो गीन ‘द फार्मर एण्ड द भाइपर’ भन्ने एसपको कथामा आधारित छ । कथा दयालुपनले धोका खान सक्छ भन्ने नैतिक ज्ञान दिन लेखिएको थियो । तर, ट्रम्पले चुनावी अभियानका गीतको मर्म तोडमरोड गरेपछि ब्राउनको परिवारले यो गीतको प्रयोग नगर्न माग गरेको थियो ।

‘उनले यो गीत प्रयोग गरेको हेर्न हामी चहाँदैनौ,’ म्यागी ब्राउनले सन् २०१६ मा शिकागो ट्रिब्युनलाई भनेकी थिइन्, ‘बुबा जिउँदो हुनुहुन्थ्यो भने महान कविता दुरुपयोग गरेकोमा उहाँ आक्रोशित बन्नुहन्थ्यो र (ट्रम्पलाई) निमोठेर टुक्रा टुक्रा पारिदिनुहुन्थ्यो । ’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू