अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

पहिले घृणा गर्नेहरु अहिले दुई हात जोड्न थाले

सुशीला रेग्मी २०७४ फागुन ९ गते २२:२५ मा प्रकाशित

रामपुर, पाल्पा, ‘पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरू आफैँ दुई हात जोडी नमस्कार गर्न थालेका छन्’, यो जीवनको यथार्थ र वास्तविक भोगाइ हो– पाल्पाको रामपुर नगरपालिका–५ का जय नेपालीको ।

आजभन्दा झन्डै दुई दशकअगाडि २०/२२ वर्षे ठिटो नेपालीले विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले बेझाड बजारको एक छेउमा बसेर सियो र धागोको सहाराले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउन सुरु गर्नुभयो ।

त्यति बेला उहाँसँग धागो र एउटा सियो मात्र जुत्ता चप्पल सिलाउने साधन थियो । “एउटा हातमा सियो र धागो, अर्को हातले काखमा राखिएको जुत्ता चप्पल समाउँदै मैले सिलाउन थालेको देखेपछि सबैका लागि म त्यति बेला हास्यपात्र बनेँ, व्यवसायलाई मेहनतका साथ अगाडि बढाउँदै जाँदा हेयका दृष्टिले हेर्नेहरु अहिले प्रशंसा गर्दै दुई हात जोडेर नमस्कार गर्न थालेका छन्,” उहाँले भन्नुभयो ।

बजारको एक कुनाबाट सुरु गरेको सियो र धागोको काम अहिले सटरमा चलाउन पाउँदा निकै गौरव लागेको उहाँको भनाइ छ । “गल्लीमा बसेर अर्काका पुराना जुत्ता चप्पल सिलाएर बस्दा सबैले आलोचना गर्न थाले, मैले लाज नमानीकन इमान्दार भएर आफ्नो काम गर्दै गएँ, त्यसैको प्रतिफल अहिले मिलेको छ”, नेपालीले भावुक हँुदै भन्नुभयो ।

उहाँले जुत्ता चप्पल सिलाएर एक महिनामा रु ६० हजार बराबरको कमाई गर्न सफल हुनुभएको छ । चाडपर्वका बेला दिनमै दश हजार रुपैयाँ सम्मको कमाई हुने उहाँ बताउनुहुन्छ । “अर्काको जुत्ता चप्पल सिलाएर दुई दशक बिताएँ, काममा दुःख पनि छैन, बसी बसी विदेश जाने र सरकारी जागिरमा आबद्ध हुनेले भन्दा दोब्बर कमाई गरेको छु,” उहाँले भन्नुभयो ।

ग्राहकको भीडले नेपालीलाई काममा अहिले भ्याइनभ्याई छ । पुराना कामसँगसँगै अहिले आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थाल्नुभएको छ । नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उहाँको भनाइ छ ।

मेहनत र परिश्रम गर्नेका लागि कुनै पनि काम ठुलो र सानो हँुदैन । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको दोब्बर कमाई स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय पात्र बन्नुभएको छ, जय नेपाली । “काम सानो या ठुलो होस्, इमान्दार भएर गरियो भने पैसा कमाउनका लागि समस्या छैन,” उहाँ भन्नुहुन्छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू