अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

पुनर्निर्माण प्राधिकरणद्वारा ‘परियोजना अनुगमन सूचना प्रणाली’ संचालनमा

बिआरटीनेपाल २०७४ फागुन ९ गते ६:२२ मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणको कामलाई पारदर्शी र प्रभावकारी बनाउन ‘परियोजना अनुगमन सूचना प्रणाली’ संचालनमा ल्याएको छ ।

भूकम्पपछिको पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित सम्पूर्ण गतिविधि, बजेटको अवस्था लगायतलाई एकद्वार प्रणाली मार्फत् जानकारी दिन र भूकम्प प्रभावित जिल्लाहरुमा भइरहेको कामको केन्द्रीय स्तरबाटै अनुगमन गर्ने उद्देश्यले यस्तो प्रणाली संचालनमा ल्याएको हो ।

राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भूसालले परियोजना अनुगमन सूचना प्रणालीको औपचारिक रुपमा शुभारम्भ गर्नु भयो ।

उक्त अवसरमा बोल्दै प्रमुख कार्यकारी अधिकृत भूसालले यो प्रणालीको विकासले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित कार्यलाई अझै बढी पारदर्शी र जवाफदेही बनाउन सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।

विश्वका विकसित मुलुकहरूले परियोजना अनुगमनका लागि प्रयोग गर्दै आएको यो सूचना प्रणाली मार्फत् नेपालमा भइरहेको पुनर्निर्माणको कामलाई विश्वको कुनै पनि कुनाबाट हेर्न सकिने भन्दै सिइओ भूसालले देशका विभिन्न भागमा भएका पुनर्निर्माणको कामलाई निगरानीमा राख्न पनि यो सूचना प्रणाली उपयोगीसिद्ध हुने बताउनु भयो ।

उहाँले नेपाल सरकार र दाताहरुले दिएको रकम पुनर्निर्माणको काममा सदुपयोग भए नभएको बारे यो प्रणाली मार्फत् सर्वसाधारण जनताले समेत थाहा पाउन र सूचना संकलन गर्न सक्ने बताउनु भयो । अंग्रेजी भाषामा सुरू गरिएको सो सूचना प्रणाली नेपाली भाषामा पनि संचालन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनु भयो ।

प्राधिकरणका सचिव मधुसुदन अधिकारीले परियोजना अनुगमन सूचना प्रणाली संचालनमा आएसँगै प्राधिकरणलाई भूकम्प प्रभावित जिल्लाहरुमा भइरहेको कामको अनुगमन गर्न अझै सहज हुने बताउनुभयो । उहाँले प्राधिकरणबाट भइरहेका कामलाई सही दिशामा थप प्रभावकारी बनाएर लैजान यस्तो सूचना प्रणालीले ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो ।

नेपाल निर्देशक मुख्तोर खामुदखानोभले गुणस्तरीय अनुगमन, प्रगति निगरानी मार्फत् प्रभावकारी परियोजना व्यवस्थापन गर्ने तथा अनुपालन अनुगमन सुनिश्चितताको उद्देश्यसहित यो प्रणालीको सुरुवात गरिएको बताउनु भयो ।

‘यो प्रणालीले फिल्डमा भएको प्रगतिको तत्काल उपयुक्त जानकारी दिने भएकोले परियोजना कार्यान्वयनमा ठूलो परिवर्तन ल्याउनेछ’ खामुदखानोभले थप्नु भयो ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याइएको यस सूचना प्रणालीमा भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकहरूले पुनर्निर्माण भइरहेका परियोजनाका कामको प्रगति विवरण अपलोड गर्ने छन् ।

उक्त प्रणालीबारे संक्षिप्त प्रस्तुति दिदै प्राधिकरणका सहायक प्रवक्ता डा. भीष्मकुमार भूसालले पुनर्निर्माण र पुनर्लाभसँग सम्बन्धित गतिविधिका साथै बजेटको अवस्था र आवश्यक सूचना प्रयोगकर्ताले प्राधिकरणको वेभ पोर्टल मार्फत् लिन सक्ने बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू