अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

नेपाली सामानको प्रवद्धनका लागि राजधानीमा ‘मेड इन नेपाल’ मेला हुँदै

बिआरटीनेपाल २०७४ फागुन ८ गते ६:५१ मा प्रकाशित

काठमाडौंमा चैत २ गतेदेखि ४ गतेसम्म तीन दिन‘मेड इन नेपाल’ को मेला तथा प्रदर्शनी हुने भएको छ । नेपाल युवा उद्यमी मञ्चको आयोजना तथा राइजिङ नेपाल प्रालि र माईस इन्टरनेशनल प्रालिको व्यवस्थापनमा काठमाडौंको भृकुटीमण्डपमा नेपालमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी हुन लागेको मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

‘विगत एक दशकदेखि देशमा उद्यमशीलताको विकासमा काम गर्दै आएको मञ्चले आयोजना गर्न लागेको मेला तथा प्रदर्शनीको यो छैटौं संस्करण हो,’ मञ्चका अध्यक्ष सुदर्शन बस्नेतले भने, ‘नेपालमा नेपाली वस्तु र सेवाको प्रवद्र्धन मौका दिनका लागि मेला आयोजना गर्न लागिएको हो, नेपाली सामानप्रति आम उपभोक्ताको विश्वास बढाउने हाम्रो प्रमुख उद्देश्य हो ।’

यस पटकको मेलाको नारा ‘हाम्रो पनि राम्रो’ दिइएको छ । नेपालमा उत्पादित सामानको अधिकतम प्रयोग नभएसम्म देशमा उद्यमशीलता प्रवद्र्धन गर्न नसकिने अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

‘मेड इन नेपाल’ प्रदर्शनी २०७४ नेपालमा उद्यमशीलताको विकासमा ठुलो संभावना रहेको दाबी आयोजकको छ । मेलाले स्वदेशी वस्तु प्रयोग गरी आयात प्रतिस्धापनमा सहयोग गर्ने विश्वास व्यक्त गर्दै मञ्चले स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन हुने वस्तुको उत्पादनमा सरकार र नीजी क्षेत्र दुवैले प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

तीनदिन सम्म चल्ने सो मेलामा स्वदेशी तथा विदेशीलाई निःशुल्क प्रबेशको व्यवस्था मिलाएको छ । मेलामा एकसय ५० वटा स्टल रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू