अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

सलामी र निरौलाको सृजनामय छायाँछवि काव्य शृङ्खला –५

बिआरटीनेपाल २०७४ फागुन ७ गते ६:०२ मा प्रकाशित

विगत पाँच महिनादेखी छायाँछविको आयोजनामा हुदै आइरहेको साहित्यिक कार्यक्रमको फागुन संस्करण पनि सम्पन्न भएको छ । प्रजातन्त्र दीवस अर्थात फाल्गुन ७ को अवसर पारेर गरिएको यो शृङ्खलामा विपिन सलामीका जोशीला गजल एवं रञ्जना निरौलाका आकर्षक कविता वाचन गरिएका थिए ।

कार्यक्रमको प्रारम्भ गर्दै छायाँछवि काव्य शृङ्खलाकी संयोजक रश्मि रोदनले आफ्नो मुक्तकबाट प्रजातन्त्र दिवसको उपलब्धी टीप्पणी गरेकी थिइन् । मुक्तककार एवं गजलकार रश्मि रोदनले छायाँछवि काव्य शृङ्खला साहित्य, चलचित्र र संगीतको त्रिवेणी भएपनि यसलाई हामीले एकाकार गर्न खोजेको बताएकी थिइन् । रोदनले यस्तो खाले साहित्यिक कार्यक्रमले थोरै–धेरै जे भएपनि साहित्यिक योगदान गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले छायाँछवि काव्य शृङ्खलाको योगदानका बारेमा प्रष्टाए । श्रष्टालाई मञ्च प्रदान गरेर नयाँ–पुराना श्रष्टालाई एकैठाउँ राखीनु र चलचित्र, संगीत एवं साहित्यको एउटै आयाम बनाउन छायाँछवि लागि परेको वताए ।

कार्यक्रमका स्रष्टा विपिन सलामीले जोशीला खालका करिव एक दर्जन गजलहरु सुनाए ।

म बगीरहेछु खोलाको पानी जस्तै
बाध मलाई कुलेखानी जस्तै ।

कसैले कठपुतली झै देश नचायो
यो गल्ती मेरो होइन अखवारको हो ।

सामाजीक, यथार्थपरक, श्रृंगारिक सबै प्रकारका गजल सलामीले सुनाएका थिए । उनले गजल सुनाउदा माहौल निकै जमेको थियो ।

कार्यक्रमकी अर्की श्रष्टा रञ्जना निरौलाले पनि जोशीला कविता सुनाइन् । उनले कवितामा आमा–आफू र छोरीको फरकलाई समेत उतारीन् ।

निर्धक्क म उसको काखमा राखेर शीर
अनन्त महशुष गर्छु म
मुस्काउछ सधै उ
रीसाउन जान्दै जान्दैम
यसैले म उसलाई प्रेम गर्छु ।

यी र यस्तै प्रेमील सामाजीक, विविध आयामका करिव १ दर्जन कविता रञ्जना निरौलाले सुनाएकी थिइन् ।

कार्यक्रम प्रति विपिन सलामी र रञ्जना निरौलाले आभार प्रकट गरे ।

बागबजारको सिटीम्याक्स हलमा भएको कार्यक्रममा विशिष्ट अतिथीको रुपमा हाँस्य कलाकार एवं निर्देशक दीपाश्री निरौला एवं गजलकार, गीतकार तथा एनीमेटर, सम्पादक करुण थापा थिए । कार्यक्रममा बोल्दै दीपाश्री निरौलाले मुक्तक समेत सुनाएकी थिइन् । उनले यसखाले साहित्यिक कार्यक्रममा आउन पाएकोमा औधी खुशी लागेको बताइन् । कार्यक्रममा अर्का विशिष्ट अतिथी करुण थापाले साहित्यिक यस्ताखाले असियानले आफ्नो ठाउँमा योगदान हुने बताए ।

छायाँछवि काव्य शृङ्खलाको छैठौं सिलसीला चैत्रको १७ गते गरिने कार्यक्रम संयोजक रश्मि रोदनले जानकारी गराइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू