अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

इतिहाँस पुनरावृत्ति, अमेरिका-रुस डिजिटल शीत युद्धले रोमान्चक मोड लिँदै

पुरुषोत्तम ढकाल २०७४ फागुन ६ गते १६:२३ मा प्रकाशित

सूचना र प्रविधिले ल्याएको युगान्तकारी परिवर्तनसँगै दुई महाशक्ति राष्ट्रहरू अमेरिका र रुसको युद्ध शैलीमा आएको डिजिटल युगको रोमान्चक र अनौठो सत्यको सामना गर्न तयार रहनुहोस् । अर्थात् ९० को दशकमा सोभियत युनियनको पतन हुनु अघि दुनियाँ दुई ध्रुवमा जसरी विभक्त थियो एक्काइसौ सताव्दीको सूचना र प्रविधिको यो युगमा पनि यिनै दुई महाशक्ति राष्ट्र अमेरिका र रुस असंख्य बख्तर बन्द गाडी, हजारौँ सेना र युद्ध विमानको आकासे होडबाजी होइन सामाजिक सञ्जाल मार्फत डिजिटल शीत युद्धमा सामेल भएका छन् । हो यति बेला अमेरिका र रुस बिच अघोषित शीत युद्ध अर्थात् डिजिटल शीत युद्ध सुरु भएको छ । र युद्धको स्वरूप डिजिटल शैलीको छ र अध्यन गर्न चाहनेहरुका लागि डिजिटल शीत युद्ध यति बेला रोमान्चक मोडमा पुगेको छ । यद्यपि यस पटकको शीत युद्धमा मान्छे प्रत्यक्ष सहभागी भएको छैन । दुई महाशक्ति राष्ट्रको डिजिटल शीत युद्धमा मान्छेको स्थान र भूमिका बोट्सले लिएको छ र यो युद्ध तीव्र गतिमा अगि बढिरहेको छ अर्थात् कृतिम तरिकाले फर्जी ट्विट गरिएको दृश्य सामाजिक सञ्जालमा छताछुल्ल छ । अमेरिकी प्रतिद्वन्दी रुसी केजीबीका एजेन्टहरूको स्थान यति बेला इन्टरनेट रिसर्च एजेन्सी, (आईआरए) ले लिएको छ।

अमेरिकी सङ्घीय जाँच ब्यूरो, (एफबिआई) ले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको भन्दै १३ जना रुसी नागरिक, तीन कम्पनीलाई सप्रमाण आरोप लगाएको छ । शुक्रवार रबर्ट मुलरले रुसको आईआरएले पहिचान लुकाएर,नयाँ प्रविधि मार्फत अमेरिकाको बैङ्क र अमेरिकी निकायहरूलाई धोखा दिएको र अमेरिकी जनमतलाई फर्जी तरिकाले प्रभावित पारेको आरोप सार्वजनिक गरेपछि दुई महाशक्ति राष्ट्रको डिजिटल शीत युद्ध रोमान्चक मोडमा पुगेको तथ्य सतहमा आएको छ ।

यति बेला अमेरिकाले मुख्य रूपमा रुसी रिसर्च एजेन्सी आईआरएलाई निशाना बनाएको छ । यसलाई ‘ट्रोल फर्म’ भनेर परिचित गराइएको छ । आरोपमा भनिएको छ रुसको सेन्ट पिटर्स्बर्गबाट सञ्चालित यो एजेन्सीले सामाजिक सञ्जाल ‘सोशल मिडिया’ मार्फत राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको विरुद्ध रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपको पक्षमा फर्जी पोस्ट गरेर अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्ने काम गरियो ।

अभियोग पत्रमा भनिएको छ, ‘आईआरए राज्य संरक्षित सङ्गठित संस्था हो जसले यस्तो कामका लागि आफ्नो बजेटको लाखौँ डलर खर्च गरेको छ ।आईआरएको धेरै विभागहरू छन् जसले इन्टरनेटका फरक फरक क्षेत्रमा काम गर्छन् । कतिपय विभाग मात्र सर्च इन्जिन अप्टिमाइजेसन र ग्राफिक्सको काम गर्छन् ।’

अमेरिकी अनुसन्धानकर्मीहरुको पहुँच आईआरएका एक अधिकारीको मेलसम्म पुग्न सफल भयो । अभियुक्त इरिना कावेर्जिनले आफ्नो परिवारको सदस्यलाई लेखेको इमेलमा भनिएको छ, ‘मैले यो सबै तस्बिर र पोस्ट तयार गरे जसलाई अमेरिकीहरूले उनीहरूकै मान्छेले लेखेको र पोस्ट गरेको भन्ने विश्वास भयो ।’ अनुसन्धानबाट अर्को रोचक तथ्य पनि बाहिरियोकी, अमेरिकामा बसोबास गर्ने रुसी नागरिकहरूले अमेरिकाको महत्त्वपूर्ण राज्यहरूमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपको पक्षमा जनमत तयार गर्ने काम गरे । फर्जी कामका योजनाकारहरुले आईआरएलाई पठाएको आन्तरिक संदेशमा यति सम्म भनिएको छकि, ‘पोलिटिक्स इन द युएसए’ फोकस गरेर कन्टेन्ट पोस्ट गर्नु ।’ र यिनै पोस्ट मार्फत हिलारीको तीव्र आलोचना गरियो । 

अमेरिकी दाबी अनुसार मस्कोले आफ्नो अनुकूलको राष्ट्रपति निर्वाचित गरेर वाशिंगटनमा उथल पुथल ल्याउने काम गरेको छ । उता रुसले यो दाबीलाई पूर्ण रूपले अस्वीकार गरेको छ । रुसी विदेश मन्त्री सेरगी लावारोवले म्युनिक सेक्युरिटी कन्फ्रेसलाई सम्बोधन गर्दै भनेका छन्, ‘अमेरिकी दाबीलाई लिएर मलाई कुनै प्रतिक्रिया दिनु छैन । यस्तो खालको बयान निरन्तर आइरहने छ र तथ्य सामुन्ने नआउन्जेल यो मात्र बकवास हो ।

म्युनिक सेक्युरिटी कन्फ्रेसमै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर मेकमास्टरले भने, ‘अभियोगले स्पष्ट पारेको तथ्यलाई खारेज गर्न सकिन्न ।’ यद्यपि व्हाइट हाउसस्थित उच्च अधिकारीहरूले यो समाचारको खण्डन गर्दै गलत भएको प्रतिक्रिया दिदैं आएका छन् । तर शुक्रवार सार्वजनिक भएको एफबीआईको अभियोगले स्पष्ट पार्छकी यो विषय पुरै गलत भन्ने व्हाइट हाउसस्थित उच्च अधिकारीहरू र रुसको दाबीमा सत्यता छैन ।

राष्ट्रपति ट्रंपले ट्विट गरेर भनेका छन्, ‘रुसले अमेरिका विरोधी अभियान २०१४ मा सुरु गर्‍यो । यो घटना मेरो राष्ट्रपति चुनावमा उम्मेदवार हुनु भन्दा धेरै अघिको कुरा हो । चुनाव परिणाममा यसले कुनै प्रभाव पारेको छैन । ट्रंपको चुनावी अभियानमा कुनै पनि गलत काम भएको छैन र यस्तो खालको विरोधाभाषपूर्ण कार्य भएको थिएन र छैन पनि ।’
तर यो विषय यतिमै सकिन्न । रुसले पहिचान लुकाउनका लागि सेल फर्म र आइडी चोर्नु र प्राइभेट नेटवर्क प्रयोग गर्नुले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी संलग्नतालाई थप संदिघ्ध बनाएको छ र रुस र अमेरिकाको विश्वासको जग फेरी एक पटक डिजिटल शीत युद्ध मार्फत हल्लिएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने संस्था रुसको आईआरएको नेतृत्व र काम:
मीखाइल वेस्त्रोव (सीईओ): अवकाश प्राप्त कर्नेल सेन्ट पिटस्बर्ग प्रहरी । अभियोगपत्र अनुसार मीखाइल वेस्त्रोवले फरवरी २०१४ मा यो कम्पनी प्रवेश गरेर यो कम्पनीको नेतृत्व सम्हाले र कम्पनीको गतिविधि बँधाउन सेल कम्पनीलाई आधार बनाए ।

मीखाइल बर्चिक (एक्जुकेटीव डाइरेक्टर): अभियोगपत्र अनुसार मीखाइल बर्चिकले योजनाको अप्रेसन मेनेजरको रूपमा नेतृत्व सम्हाले जसले अप्रेसनको योजना, संसाधन र प्रयोग गर्ने विधि बारे निगरानी राख्ने काम गरे ।

ट्रोल फेक्ट्री: यो रुसी राष्ट्रपति पुटिनको सहर सेन्ट पिटस्बर्गमा रहेको छ । यो कम्पनीको मुख्य काम इन्टरनेट रिसर्च एजेन्सी, ब्लगर र अनलाइन कमेण्टरको सेवा लिँदै रुस र लक्षित देशहरूमा जनमतलाई प्रभावित पार्न सकियोस भन्ने उद्धेश्यमा केन्द्रित छ । कम्पनीले ती तमाम अमेरिकीको नाममा अनलाइन विज्ञापन बुकिङ्ग गर्‍यो जसलाई उनीहरूले चोरी गरेका थिए । र आफूलाई अमेरिकी अगुवा सामाजिक कार्यकर्ता बताउँदै र्याली आयोजना गर्ने पोस्ट गरे । यसका अतिरिक्त अमेरिकी नागरिकलाई यस्तो कामका लागि पैसा दिने काम समेत गरियो जसले हिलारीको छवि धुमिल बनाउन सहयोग पुर्याओस ।

सम्बन्धित सामग्रीहरू