अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

रासस उन्नत समाचार संस्था बन्नुपर्छ: प्रम ओली

रासस, काठमाडौँ २०७४ फागुन ६ गते १२:१० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समाचार समिति (रासस)ले आफूलाई सबैभन्दा उन्नत समाचार संस्थाका रूपमा उभ्याउनुपर्नेमा जोड दिनुभएको छ ।

मुलुकको एकमात्र समाचार समिति राससले ५७औँ वर्ष प्रवेश गरेको सुखद अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा परिवर्तित सन्दर्भमा राससले आफ्नो समाचारीय प्राथमिकता र शैलीमा परिवर्तनका लागि नयाँ प्रविधिको प्रयोग गरेर आफूलाई सबभन्दा उन्नत समाचार संस्थाका रूपमा उभ्याउन आग्रह गर्नुभएको छ । उहाँले यसका लागि सरकारको तर्फबाट सधैँ सकारात्मक सहयोग हुने नै विश्वास पनि दिलाउनुभएको छ । 

मुलुकमा राणा शासनको अन्त्यपछि प्रजातन्त्र स्थापना भएसँगै प्राप्त सीमित स्वतन्त्रताका बिच देश र जनताका पक्षमा आंशिक रूपमा पत्रकारिता आरम्भ भएको तर निरङ्कुश पञ्चायती व्यवस्थाले जनताको स्वतन्त्रताको हक खोसेका कारण प्रेस स्वतन्त्रता पनि लामो समय कुण्ठित हुनपुगेको उल्लेख गर्दै उहाँले तर जनताका अधिकार बहाली गर्नका लागि त्यस बेला पनि मिसन पत्रकारिता जारी रहेको स्मरण गर्नुभएको छ ।

नेपालको राजनीतिक अधिकार प्राप्तिको लडाइँमा यस किसिमको मिसन पत्रकारिताको महत्त्वपूर्ण योगदान रहेको उहाँले बताउनुभएको छ ।

“संविधानसभाले संविधान जारी गरेपछि नेपालमा मूलतः राजनीतिक सङ्घर्षको युग सकिएको छ । त्यसमा पनि गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आधारभूत रूपमा राजनीतिक संक्रमणकाल पनि सकिएको छ,” सन्देशमा भनिएको छ ।

त्यस कारण अब राज्यको मूल लक्ष्य विकास र समृद्धि हो । देशको यो प्राथमिक लक्ष्य हासिल गर्न सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ । यस महाअभियानमा राससले अग्रणी भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु भन्दै प्रधानमन्त्रीले राससकर्मीलाई शुभकामना पनि दिनुभएको छ ।

सम्बन्धित सामग्रीहरू