अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३२ | Colorodo: 03:47

गैर आवासीय नेपाली सङ्घको वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन

नव राज पोखरेल, रोमनिया २०७४ फागुन ६ गते ११:५१ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय परिषद्ले चालु २०१७/१९ को लागि आफ्ना विभिन्न समितिहरूमध्ये एक वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरेको छ । सचिव डी. बी. क्षेत्रीको संयोजकत्वमा बनेको समितिमा प्रत्येक महादेशबाट एकएक जना रहने गरी पाँच जना क्षेत्रीय सहसंयोजकहरु तोकिएका हुन् । समितिमा विभिन्न देशहरूबाट प्रतिनिधिको रूपमा सदस्यहरूको पनि चयन गरिएको छ ।

क्षेत्रीय सहसंयोजकहरुमा मध्यपूर्वका लागि जोन अर्याल, अमेरिकाका लागि विनोद भट्ट, र एसिया प्यासिफिक क्षेत्रका लागि आस्था मल्ल चुनिएका छन् भने अफ्रिका र ओसिनियाका लागि क्रमशः पदम राना र चोलाकान्त खनाल रहेका छन् । त्यस्तै युरोप क्षेत्रका लागि बेलायतबाट खुसी लिम्बु सहसंयोजक तोकिएका छन् । लिम्बु अघिल्लो कार्यकालमा धरम केसी संयोजक रहेको समितिमा सदस्य थिए । १९ सदस्यीय अघिल्लो समितिबाट नयाँ समितिमा पर्नेमा लिम्बु एक्ला हुन् ।

सदस्यहरूमा अमेरिकाबाट पर्शुराम भण्डारी, कोमल साप्कोटा र सुमन बस्ती, युरोपबाट लक्ष्मी प्रसाद भट्टराई (पोल्याण्ड), कुवेर कार्की (पोर्चुगल), हेमराज पौडेल (जर्मनी) र टिकाराम साप्कोटा (निदरल्याण्डस) परेका छन् । त्यस्तै मध्यपूर्वका लागि सदस्यहरूमा युएइबाट रमेश श्रेष्ठ, इजरायलबाट सुवास सिम्खडा, बहराइनबाट लक्ष्मी गिरी र ओमनबाट गुणहरी अधिकारी रहेका छन् । ओसिनियाबाट सदस्यहरूमा विजय फुंयाल, मुरारी लम्साल र सन्जय श्रेष्ठको नाम समावेश छ । एसिया प्यासिफिक क्षेत्रका लागि भने एनसीसी मकाउका पूर्व अध्यक्ष मुकेश बरुवाल र मलेसियाबाट खगेन्द्र न्यौपाने पनि टिममा परेका छन् । अफ्रिकाबाट सुरज डुम्रे र विश्वास पौडेल सदस्य छन् । मिडियाका लागि दामोदर नेपाल, नवराज पोखरेल र सुजन केसीलाई चुनिएको छ ।

वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिले विगतमा थालेका कार्यहरूलाई निरन्तरता दिँदै वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पहल गर्ने योजना रहेको कुरा समितिका संयोजक आईसीसी सचिव डिबी क्षेत्रीले बताए । अन्य योजनाहरूमा समितिको उद्देश्य अनुरूप दैनिक भैपरिआउने समस्याहरूमा एनसीसीहरुसंग सहकार्य गर्ने, वैदेशिक रोजगार राहत कोषमा अभिबृद्दी गर्ने र मानव तस्करी रोक्न प्रहरीसँग सहकार्य गर्ने रहेको छ ।

समितिको सल्लाहकारहरूमा रामेश्वर शाह, सोम सापकोटा र रजनी प्रधानलाई नियुक्त गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू