अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

वरिष्ठ साहित्यकार मनु ब्राजाकीको सम्झनामा कोलोराडोमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ फागुन ५ गते १४:३६ मा प्रकाशित

अमेरिकाको कोलोराडोमा बस्ने नेपालीहरूले वरिष्ठ साहित्यकार मनु ब्राजाकीको सम्झना गरेका छन् । गत माघ १९ गते निधन भएका साहित्यकार ब्राजाकीको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा ब्राजाकीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम राखिएको हो । 

साहित्यकार ब्राजाकीको साहित्यिक योगदानको चर्चा, विभिन्न साहित्यकारका सृजना वाचन लगायतका कार्यक्रमको आयोजना गरी सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुगेंल, केन्द्रीय सदस्य राजु सिटौला, अनेसास पूर्व अध्यक्ष तथा साहित्यकार ज्ञानेन्द्र गदाल, साहित्यकार तथा समाजसेवी डा. बिजयराज शर्मा, विजय देव अधिकारी, प्रमिला शर्मा, कलाकार निर्मल प्याकुरेल, तारा अधिकारी लगायतले साहित्यकार ब्राजाकीको साहित्यका योगदानका बारेमा बोल्नुका साथै उनका बारेमा लेखिएका र उनीद्वारा सृजना गरिएका कविता र गजल प्रस्तुत गरेका थिए । 

स्व. साहित्यकार ब्राजाकीको तस्बिरमा स्रष्टाहरूले पुष्प अर्पण गरेर सुरु भएको कार्यक्रमा कोलोराडोबाटै सञ्चालित अनलाइन पत्रिका बिआरटी नेपाल डटकमको उनको निधन हुनुअघि खिचेको उनी गजल वाचन गरिरहेको भिडियो किल्प्स पनि देखाएको थियो भने कार्यक्रमको फेसबुक लाईभ पनि गरेको थियो । ब्राजाकीले निधन हुनु केही समय अघि सम्म पनि आफ्ना गजल र स्तम्भ बिआरटी नेपाल प्रकाशित गर्दै आएका थिए ।

१ मिनेट मौन धारण गरिएको श्रद्धाञ्जली कार्यक्रममा अनेसास कोलोराडो च्याप्टरका महासचिव श्याम श्रेष्ठले ब्राजाकीको बारेमा आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुगेंलले गरेका थिए । कार्यक्रममा साहित्यकार ब्राजाकीका छोरी अपर्णा बस्नेत तथा ज्वाइ विष्णु बस्नेतको पनि उपस्थित थियो । 

मस्तिष्क शिरोघातबाट पीडित साहित्यकार ब्राजाकीको गत माघ १९ गते उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो । विशेष गरी गजल, कविता र स्तम्भ लेखनमा सक्रिय मनु ब्राजाकीको वास्तविक नाम चेतमान सिंह भण्डारी हो । ‘सगर नासरत’ र ‘हेमन्त हरि’ साहित्यिक नामबाट पनि केही समय चिनिएका उनी पछि नेपाली साहित्यमा मनु ब्राजाकी नामले प्रसिद्ध रहेका छन् । सानै उमेरबाट नेपाली साहित्यमा रुचि भएका उनले बि.सं. २०१९ सालमा अञ्चल सन्देश पत्रिकामा आफ्नो रचना प्रकाशित गरेर औपचारिक साहित्य यात्राको सुरुवात गरेका थिए ।

कथा र गजल विधामा सक्रिय मनु बाज्राकीको पहिलो कथासङ्ग्रह अवमुल्यन बि.सं. २०३८ सालमा प्रकाशित भएको थियो । त्यसपछिका उनका कथासंग्रहहरु २०४२ सालमा आकाशको फल, २०४६ सालमा तिम्री स्वास्नी र म, २०५२ सालमा भबिश्ययात्रा, २०६० सालमा पारदर्शी मान्छे, र २०७० सालमा अन्नपूर्णाको भोज र मनु ब्राजाकीका लघुकथा साथै २०५६ सालमा गजलसंग्रह काँडाका फुलहरू, २०५९ सालमा गजल गङ्गा प्रकाशित कृति हुन् भने पछिल्लो समय मनु ब्राजाकीका अमेरिकामा किस्ताबन्दीको सुखी जीवन, पुरुष र पेटीकोट, फेसबुके नेपाली साहित्य सक्किगोनी, अमेरिका ‘बाउ’ अर्थात् नेपाली आहा, मनु हुन सक्नेलाई जात चाहिँदैन (गजल), गोही पनि रुँदोरहेछ (गजल),लगायतका थुप्रै लेख रचना निरन्तर बिआरटी नेपालमा प्रकाशित हुँदै आएका थिए ।

मनु ब्राजाकीको तिम्री स्वास्नी र म कथा सङ्ग्रहले २०४६ सालमा साझा पुरस्कार पाएको थियो भने आख्यान नाटकतर्फ वि.सं. २०६९ को महाकवि देवकोटा पुरस्कारबाट पनि उनी सम्मानित थिए साथै २०७० सालमा उनको कथासङ्ग्रह अन्नपूर्णाको भोजले पद्यश्री साधना सम्मान पुरस्कार प्राप्त गरेको थियो । यसबाहेक उनी मैनाली पुरस्कार, गंगालक्ष्मी पुरस्कार लगायतका सम्मानबाट पनि सम्मानित छन् । ब्राजाकीका श्रीमती, एक छोरा र एक छोरी छन् ।
फोटो: शैलेश पोखरेल

कार्यक्रमको भिडियो:

 

प्रतिक्रिया