अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३९ | Colorodo: 15:54

गतवर्षको राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेप भएको अमेरिकाको आरोप

बिआरटीनेपाल २०७४ फागुन ५ गते ५:४४ मा प्रकाशित

गतवर्ष भएको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको हस्तक्षेपमा रुसी नागरिकको हात रहेको आरोप अमेरिकाले लगाएको छ ।

संयुक्त राज्य अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको बताइएको थियो । अनुसन्धानकर्ताहरुले रुसी नागरिकको हस्तक्षेप निर्वाचनमा देखिएको सो अनुसन्धानबाट खुलेको बताएका छन् ।

एकजना रुसी व्यापारीसहित १३ जना रुसी नागरिकमाथि यो आरोप लगाएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी यसअघि नै आलोचना भएको थियो ।

उक्त अभियोग लागेका व्यक्तिहरुमाथिको अनुसन्धानमा यस्तो देखिएको अमेरिकी अनुसन्धानकर्ताहरुले जानकारी दिएका छन् ।

उक्त निर्वाचनमा रुसको एक इन्टरनेट समूह ‘ट्रोल फार्म’ को हात रहेको पाइएको अमेरिकाको भनाई छ ।

सो इन्टरनेट एजेन्सीसँग सम्बद्ध समूहका ती १३ जनाले राष्ट्रपतिमा डोनल्ड ट्रम्पको जितको सम्भावना भनेर देशव्यापी सर्वेक्षण गरी त्यसको परिणाम आमसञ्चारका माध्यममार्फत देशव्यापी बनाएका थिए ।

उक्त तथ्य अमेरिकी अनुसनधानकर्ताहरुले शुक्रबार सार्वजनिक गरेका हुन् । ट्रम्पको विजयको सम्भावना बढाउने उद्देश्यले जनमतलाई नै प्रभावित पार्नेगरी ठूलो मात्रामा सामग्री पनि अनलाइन मिडियाहरुमा राखिएको पनि अमेरिकाको आरोप छ ।

यसरी चुनाव प्रभाव पार्नेगरी काम गरेको भनिएको रुसी नागरिकको उक्त सूचीमा क्रेम्लिनसँग निकट रहेका व्यापारी युभ्गेन प्रिगोजिन पनि परेका छन् ।

तर रुस सरकार र ती व्यापारीले पनि यस्तो संलग्नता अस्वीकार गरेका छन् । ती आरोपबाट ट्रम्पको चुनावी अभियानमा रुसको साठगाँठ रहेको देखाउँदैन ।

चुनावी अभियानका क्रममा कुनै गलत काम नभएको भन्दै राष्ट्रपति ट्रम्पले बारम्बार यो अस्वीकार गर्दै आउनुभएको छ ।

तर अमेरिकाको डेमोक्र्याटिक पार्टीकी नेतृ नान्सी पेलोसीले भने ती अभियोगहरू अमेरिकाको पछिल्लो अनुसन्धानबाट थप पुष्टी भएका बताउनुभएको छ ।

सन् २०१६ को चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने विषयमा अनुसन्धान भएको हो र त्यो अहिले आएर स्पष्ट भएको उहाँको दाबी छ ।

तर रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने रुसले हस्तक्षेप गरेको भन्ने आरोपहरूमा कुनै पनि सत्यता नरहेको बताउनुभएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू