अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

एफबिआइ(FBI) र सिआइए(CIA) भन्छ, यी कम्पनीको सेल फोन प्रयोग नगर्नुस्

बिआरटीनेपाल २०७४ फागुन ३ गते १५:५८ मा प्रकाशित

अमेरिकी खुफिया एजेन्सी एफबिआइ, सिआइए र एनएसएले सूचना चोरी हुनसक्ने भन्दै अमेरिकी नागरिकलाई हुवावे (Huawei) र जेडटिई (ZTE) को फोन प्रयोग नगर्न चेतावनी दिएको छ ।

सिआइए, एफबिआई, एनएसए र रक्षा मामिला खुफिया एजेन्सीले चीनमा निर्मित ती स्मार्टफोन मङ्गलवार सिनेट इन्टेलिजेन्स कमिटी सामु परीक्षण गरेर अमेरिकी उपभोक्ताका लागि खतरायुक्त भएको देखाएका थिए । त्यसपछि रिपब्लिकन सिनेटर टम कटनले ती कम्पनीका फोन प्रयोग गर्न अमेरिकी नागरिकलाई सिफारिस गर्ने की नगर्ने भन्ने प्रश्न राखेका थिए । फोन प्रयोग गर्न सिफारिस गर्ने पक्षमा कमिटीका कुनै पनि सिनेटरले हात उठाएका थिएनन् ।

उनले विदेशी सरकारको नियन्त्रणमा रहेको कम्पनीले बनाएको स्मार्ट फोन स्वदेशी दूरसञ्चार संरचनाभित्र प्रयोग गर्दा खतरा हुने उनले बताए । हुवावे विश्वमा अग्रणी भूमिका भएको प्रविधि निर्माता हो । यो कम्पनीको प्रयोग गर्न अमेरिकी सरकारले यसअघि पनि केही सङ्घीय एजेन्सीलाई प्रतिबन्ध लगाइसकेको छ ।

एफबिआई निर्देशक क्रिस रेले यी फोनको प्रयोग गर्दा त्यसबाट सूचनामा छेडखानी गर्न वा चोरी हुन सक्ने बताए । ‘यी फोनलाई खुफिया कामका लागि प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

अमेरिकी सरकारको सूचना चोरीमा प्रयोग हुन सक्ने भन्ने चासोका कारण हुवावेले अमेरिकी बजारमा राम्रो स्थान बनाउन सकेको छैन । सन् २०१२ मा पनि कङ्ग्रेसले यी दुई चिनीया कम्पनीलाई निगारानीमा राख्नुपर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । ती दुवै कम्पनीले उक्त प्रतिवेदनको विरोध गरेको थियो । हुवावेले त उक्त प्रतिवेदन आधारहीन भएको प्रतिक्रिया दिएको थियो ।

गत जनवरीमा हुवावे आफ्नो स्मार्ट फोन बेच्न एटी एण्ड टीसँग गरेको वार्ता असफल बनेको थियो । रेले मङ्गलवार अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई यो मुद्धामा सचेतना फैलाउने काम गरेको भन्दै प्रशंसा गरे ।

हुवावेले बुधवार विज्ञप्ति जारी गरी कङ्ग्रेसमा भइरहेको विकासक्रम नियालीरहेको प्रतिक्रिया दिएको छ । तर, उसले कमिटीको सुनुवाइबारे सिधै प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू