अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

सभामुखमा घर्तीको निर्विरोध निर्वाचित

रासस, काठमाडौँ २०७४ फागुन २ गते ७:०० मा प्रकाशित

बुटवल,  प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शङ्कर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

एमाले र नेकपा (माओवादी केन्द्र) को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘५ नं प्रदेशमा कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभाको कूल ८७ सदस्यमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थनको निर्णयबमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको’ उल्लेख छ ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतका भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

साथै प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ । प्रदेश नं ५ को आज बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो ।

रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीय बासिन्दा हुनुहुन्छ । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराको रुपमा २०२४ असार २९ गते उहाँको जन्म भएको हो । उहाँकी श्रीमती सीता आचार्य र एक छोरी लिचुन घर्ती मगर हुनुहुन्छ ।

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लाग्नुभएका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेबारी सम्हाल्नु भएको थियो । पछिल्लोपटक उहाँ नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएको थियो ।

साहित्य र जनवादी गीत संगीतमा दख्खल राख्नुहुने घर्तीले २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषत राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रदेश नं. ५ को प्रदेशसभाको बुधवार बसेको प्रदेशसभाको बैठकले सभामुखमा सर्वसम्मत निर्वाचित पुर्णबहादुर घर्ति संसदीय दलका नेता शङ्कर पोखरेल।
तस्बिर: भरत के.सी., बुटवल, रासस

सम्बन्धित सामग्रीहरू