अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 02:42

सातवटा स्वास्थ्य संस्थालाई सामग्री

बिआरटीनेपाल २०७४ माघ २९ गते १८:३७ मा प्रकाशित

धुलिखेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा रहेको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले जिल्लाका विभिन्न सातवटा स्थानमा रहेका स्वास्थ्य चौकीलाई चिकित्सा उपकरण एवं हस्पिटल फर्निचर हस्तान्तरण गरेको छ । 

सोमबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला समन्वय समितिको हलमा कार्यक्रम गरी केन्द्रले एचआरडिसी र सिबीएम नेपालको साझेदारीमा सो सामग्री हस्तारण गरेको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक विकासमान सिंहले बताउनुभयो ।

“भूकम्पपश्चात् विकलाङ्ग मित्र समूहद्वारा सञ्चालित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, बनेपाले सिबिएम र स्वीस सोलिडारीटीको सहयोगमा स्वास्थ्य चौकीको क्षमता अभिवृद्धि गर्ने तथा सर्वसाधारण एवं अपांगता भएका व्यक्तिहरू समेतलाई लक्षित गरी सामग्री हस्तान्तरण गरेका हौँ,” सिंहले भन्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले स्वास्थ्य चौकीका लागि सामग्री उपलब्ध गराईदिएकोमा खुसी व्यक्त गर्दै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख सुरेन्द्रप्रसाद चौरसियाले गुणस्तरीय स्वास्थ्य सेवामा ती सामग्रीको प्रयोग हुने बताउनुभयो । सो अवसरमा उहाँले स्वास्थ्य चौकीका कर्मचारीलाई सामग्री सदुपयोग गरी गुणस्तर सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

केन्द्रले जिल्लाका महाभारत गाउँपालिकाको घर्तीछाप, चौरीदेउराली गाउँपालिकाको बिर्तादेउराली र पोखरीचौरी बेथानचोक गाउँपालिकाको ढुङ्खर्क, तिमाल गाउँपालिकाको ठूलोपर्सेल, मण्डन देउपुर नगरपालिकाको महादेवस्थान र पाँचखाल नगरपालिकाको साठीघरमा रहेका स्वाथ्य चौकीमा गरी सातवटा स्वास्थ्य संस्थामा रु ३१ लाख ३० हजार ९५५ बराबरको सामग्री हस्तान्तरण गरिएको हो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू