अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०३ | Colorodo: 10:18

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको पहिलो कार्यक्रम सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ माघ २८ गते २१:१८ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले संयुक्त राज्य अमेरिका स्थित कोलोराडोको लाफायत सहरमा आफ्नो पहिलो कार्यक्रम आयोजना गरेको छ । साहित्य सङ्गीत र कलाको साझा मञ्च बन्ने अभिप्राय अनुरूप गठन गरिएको यस प्रतिष्ठानको सभापतित्व कोलोराडोमा गायक तथा सङ्गीतकार वसन्त लम्सालले गर्नु भएको थियो । अन्य कार्यक्रममा जस्तो बिना आसन ग्रहण सुरु गरिएको यस कार्यक्रमको औचित्य बारे भुपेन्द्र महतले प्रकाश पार्नु भएको थियो । 

गीत सङ्गीत साहित्य र कलालाई प्रोत्साहन गर्न र नयाँ प्रतिभालाई उचित स्थानको लागि साझा मञ्च प्रदान गर्ने, उपस्थित मध्य भाषा साहित्य कलामा योगदान दिने व्यक्तित्वलाई कार्यक्रमको सभापतित्व ग्रहण गराउने, साहित्य सङ्गीत सुन्ने र सुनाउने, आफ्नो प्रतिभालाई उजागर गराउन इच्छुक व्यक्तित्वलाई कार्यक्रम सञ्चालन गर्न अवसर प्रदान गराउने र क्रमिक रूपमा यसको बिस्तार गर्दै जाने तथा कार्य समितिमा रहेका सम्पूर्ण सदस्यको समान हैसियत रहने र पालै पालो कार्यक्रम सञ्चालन गर्ने जस्ता विषयको जानकारी महतले दिनु भएको थियो । 

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठान कार्य समिती

वरिष्ठ गजलकार तथा कथाकार मनु ब्राजाकीको सम्झनामा एक मिनेट मौन धारण गरिएको उक्त कार्यक्रममा वसन्त लम्सालले “भन्छौ रे देश छोडेर जाने के भन्नु तँलाई, तिमीलाई भन्दा माटोको माया धेरै छ मलाइ” बोलको मार्मिक गीतले सबैलाई भावुक बनाएको थियो । ज्ञानेन्द्र काफ्लेले संचालान गरेको उक्त कार्यक्रममा जिदेन राई, नायक नवराज श्रेष्ठ, शान्ति भुसाल आदिले शुभकामना दिनुको साथै श्रीराम लुइटेल, धन पौड्याल, गौतम सागर राई, बेनी महत (अङ्रेजीमा कबिता), बि के श्रेष्ठ, भुपेन्द्र महत, कवि तिमल्सिना जस्ता श्रस्टाहरुले आफ्नो रचना वाचन गर्नु भएको थियो जसलाई बिआरटी नेपाल डट कमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

भुपेन्द्र महत, गौतम सागर राई, ज्ञानेन्द्र काफ्ले, धन पौडेल, अनिल के सी, कवि तिमल्सेना, बि के श्रेष्ठको कार्य समिति रहेको उक्त प्रतिष्ठानले आगामी दिनमा अझ पारीमर्जित हुँदै जाने अपेक्षा राखेको मनसाय धन पौडेल र गौतम सागर राईले गर्नु भएको थियो ।

कतिपय शुभच्छुक साहित्य तथा संगीतप्रेमीले कार्यक्रमको सफलताको कामना साथै आगामी कार्यकममा सहभागिता जनाउने सन्देश समेत दिनु भएको थियो । नेपालमा आफ्नो नृत्य कलामा सक्रिय भूमिका निभाएकी गीता कडायतले आफूलाई स्थान पाउने आशा राख्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सभापतित्व गर्नु भएका गायक वसन्त लम्सालले समिक्षात्मक रूपमा आफ्नो धारणा सहित विसर्जन गर्नु भएको थियो । 

फोटो: शैलेश पोखरेल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू