अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

सरकार गठनअघि एकताको खाका

बिआरटीनेपाल २०७४ माघ २८ गते १८:४३ मा प्रकाशित

एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने जनाएको छ। स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए। दाहाल र ओलीबीच सोमबार छलफल हुने तयारी छ।

‘फागुनभित्र पार्टी एकता टुंगिन्छ’, स्थायी समितिको बैठकपछि अन्नपूर्णसँग सचिव प्रदीप ज्ञवालीले भने, ‘नेताहरूको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेमा गृहकार्य भइरहेको छ। सरकार गठन अघि एकताको राजनीतिक खाका बन्छ।’

फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ। पार्टीसचिव ज्ञवाली पनि माओवादी अध्यक्ष दाहालसँग सकारात्मक तवरले छलफल अघि बढेकाले राजनीतिक खाकामा सहमति जुट्ने विश्वास व्यक्त गर्छन्।

माओवादीसँग पार्टी अध्यक्षमा कुरा नमिलेका कारण एकता प्रक्रियामा ढिलाइ भएको त होइन भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘त्यस्तो होइन। दुई अध्यक्षबीच कुराकानी निकै नजिक पुगेको छ। नेताहरूको व्यवस्थापनका कारण ढिलाइ भएको होइन।’ दुई अध्यक्षबीचको कुराकानीले ठोस आकार लिएपछि एकता संयोजन समितिको बैठक बसेर गृहकार्य अघि बढाइने ज्ञवालीले जनाए।

स्थायी समिति बैठकमा मुख्यमन्त्री छनोट गर्दा नेतृत्व हाबी भएर गुटबन्दी गरेको भन्दै आलोचना भएको थियो। बैठकको बीचमा वरिष्ठ नेता माधव नेपाल बाहिरिनुअघि पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समावेशी तथा योगदानलाई पाखा लगाएको आरोप लगाएकी थिइन्।

३ नम्बर प्रदेशको संसदीय दलमा आफूलाई गुटको सिकार बनाएर चुनाव हराएको भन्दै शाक्य असन्तुष्ट छन्। वरिष्ठ नेता नेपालनिकट शाक्य पार्टी अध्यक्ष केपी ओली गुटका डोरमणि पौडेलसँग संसदीय दलको चुनावमा पराजित भएकी थिइन्। मुख्यमन्त्रीमा सबै ओली पक्षधर भएपछि नेपाल पक्षधर नेताहरू रुष्ट छन्।

एमालेले बुझायो समानुपातिक सूची

एमालेले प्रतिनिधिसभा समानुपातिक तर्फको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। समानुपातिकतर्फ एमालेले पाएको ४१ सिटमा आइतबार स्थायी समितिबाट नाम टुंग्याएर आयोगमा बुझाएको हो।

आयोगले शुक्रबार दललाई तीन दिनभित्र क्लस्टर मिलाएर अन्तिम सूची बुझाउन पत्राचार गरेको थियो। आइतबार एमालेले मात्रै अन्तिम सूची बुझाएको निर्वाचन आयोगका सहसचिव गीता तिमिल्सेनाले जानकारी दिए। कांग्रेस र माओवादी केन्द्रले पनि समानुपातिक सूची टुंग्याए पनि सोमबार मात्रै बुझाउने भएको जनाएका छन्।

एमालेले समानुपातिकमा चार जना पुरुष र ३७ जना महिलाको नाम सिफारिस गरेको छ। पुरुषतर्फ आर्य खसबाट मुकुन्द न्यौपाने, जनजातिबाट विजय सुब्बा, पिछडिएको क्षेत्रबाट मोहन बानियाँ, मधेसीबाट मोतीलाल दुगड समावेश भएका छन्। एमालेले आयोगमा बुझाएको समानुपातिक सूचीमा नेताका पत्नीसमेत समाविष्ट छन्। अन्नपूर्ण पोष्टमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू