अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

न्यायलय विरुद्ध बोल्दै हिंड्नेलाई कठघरामा उभ्याउनुपर्छ – नागरिक अगुवा

बिआरटीनेपाल २०७४ माघ २६ गते २:५३ मा प्रकाशित
स्वतन्त्र न्यायपालिका माथि भईरहेको आक्रमणको विरुद्ध एक जुट हुनुपर्ने आवाज उठाउँदै नागरिक समाजका केही व्यक्तिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समय न्यायपालिकाका विरुद्ध मिडियामा दुष्प्रचार बढेको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् । स्वतन्त्र न्यायपालिकाको सिद्धान्त विपरीत केही व्यक्तिहरुले सस्तो लोकप्रियताका लागि अदालतका विरुद्ध वक्तव्य बाजी गर्दै हिंडेको भन्दै नागरिक समाजका अगुवाहरुले सरकार समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । 
राजधानीको माइतीघर मण्डलामा बाह्र वटा संघ संस्थाहरुबाट आयोजना गरिएको संयुक्त सभामा बोल्दै वक्ताहरुले न्यायपालिकाको गरिमा जोगाउनु पर्ने बताए । न्यायलय र न्यायाधीशहरु विरुद्ध भाषण बाजी गर्दै हिंड्नेहरुलाई कानुनको कठघरामा उभ्याउनुपर्ने उनीहरुले बताए ।
नागरिक सेवा प्रतिष्ठान, सगरमाथा फाउन्डेशन, द्धन्द पीडित राष्ट्रिय समिति र स्वतन्त्र नागरिक समाज नेपाल लगायतका संघ संस्थाले गरेको कार्यक्रममा बोल्दै नागरिक अगुवा भरत जंगमले न्यायलय विरुद्ध बोल्दै हिंड्नेलाई कठघरामा ल्याई सजाय दिनुपर्ने माग गर्नुभयो । सस्तो लोकप्रियताका लागि केही बुद्धिजिवी भन्नेहरुले न्यायलय विरुद्ध बारम्बार उत्तेजित भाषण गरिरहेको उहाँले आरोप लगाउनु भयो ।
सभामा बोल्दै समाजसेवी एवं राजनीतिक विश्लेषक पदम सापकोटा, भोजराज तिमिल्सिना र युवा नेता शम्भुप्रसाद अधिकारी लगायतले न्यायपालिका माथिको हस्तक्षेप बन्द गर्नुपर्ने र कानुनी राज्य स्थापना गर्नुपर्ने बताए । युवा नेता अधिकारीले डा. गोविन्द केसी र केही कानुन व्यवसायी जस्ता व्यक्तिकै कारण कानुनको खिल्ली उड्दै गएको धारणा राख्नुभयो ।
न्यायलयको बर्खिलापमा हिंड्ने जो कोहीलाई पनि कारवाही गर्न उहाँले सरकारको ध्यानाकर्षण गर्नुभयो ।
कार्यक्रम पछि सामाजिक न्याय र स्वतन्त्रताका लागि संयुक्त राष्ट्रिय महाअभियानले न्यायपालिका विरुद्ध भईरहेको गतिविधि तुरुन्त रोकी दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग राखी प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । यस महाअभियानका संयोजक भोजराज तिमिल्सिनाद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दर्ता गरिएको छ । 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू