अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

चलचित्र ‘सुश्री सम्पत्ति’को अफिसियल घोषणा

बिआरटीनेपाल २०७४ माघ २१ गते ३:३८ मा प्रकाशित

चलचित्र ‘सुश्री सम्पत्ति’को अफिसियल घोषणा गरिएको छ । युवादर्शकलाई लक्षित गर्दै कमेडी जनरामा निर्माण गर्न लागिएको यो चलचित्रमा नायक सलोन बस्नेत र नायिका सारा सिर्पालीको मूख्य भूमिका रहनेछ । साथै चलचित्रमा नायिका प्रियंका कार्की अतिथि भूमिकामा देखिने भएकी छिन् । आइतबार राजधानीमा आयोजीत चलचित्र घोषणा कार्यक्रममा चलचित्रको सम्पुर्ण टिमलाई चिनाइयो ।

आउँदो फागुन १५ गतेबाट छायांकनमा सुरु हुने यो चलचित्रलाई यसअघि ‘अर्धकट्टी’ निर्देशन गरेका सुब्रत आचार्यले निर्देशन गर्ने छन् । निर्देशक आचार्यले ‘अर्धकट्टी’ निर्माणको समयमा नेपालमा नाकाबन्दी तथा भूकम्प गएकोले धेरै दर्शकले हेर्न नपाएको गुनासो गरे  । साथै उनले चलचित्रमा कमेडी जनरा नछाड्ने बताएका थिए । ‘कमेडी भन्ने कुरा कहिल्यै पुरानो हुँदैन र हरेक मानिसलाई मनोरञ्जन मनपर्छ । नेपालको दैनिकस्थितबाट नेपालीहरु दिक्कछन् त्यसबाट कम्तिमा पनि दुईघण्टा मुक्त रहेर चलचित्रबाट मनोरञ्जन लिन सकिनेछ, ति दुखकष्ट, अप्ठ्यारा सबै भुलाउने छ ।’, निर्देशक आर्याले भने ।

साथै उनले चलचित्रको नामको बिषयमा पनि खुलाए । शुरुवातमा श्री सम्पत्ति राख्ने भन्ने निर्णय भएको र अगाडि ‘सु’ थप्दा अझ राम्रो हुने भएकाले पत्रकार कृष्ण भट्टराईको सहयोगमा सुश्री सम्पत्ति नाम राखिएको बताए । साथै नाम जुराइदिएको भन्दै पत्रकार भट्टराईलाई कार्यक्रममा १० हजार नगदले सम्मान पनि गरिएको थियो । चलचित्र आउँदो बर्षको तिजलाई लक्षित गरि प्रदर्शन गरिने तयारीमा जुटेको चलचित्र बितरणको जिम्मा लिएका गोपाल कायस्थले जानकारी दिए ।

कार्यक्रममा नायिका प्रियंका कार्कीले आफ्नो अतिथि भूमिका भएपनि कस्तो भूमिकामा रहनेछु भन्ने बिषयमा खुलाउन चाहिनन् । ‘जे होस् दर्शकले राम्रो भूमिका रहेछ भन्नुहुन्छ ।’, प्रियंकाले भनिन् । साथै चलचित्रमा मूख्य भूमिकामा धेरै अफर आउँदा आउँदै पनि अतिथि भूमिकामा काम गर्न लाग्नुभएछ नि भन्ने पत्रकारहरुको प्रश्नमा प्रियंकाले निर्देशक आचार्यसँगको नजिकको सम्बन्धका कारण नाई भन्न नसकेको बताइन् ।

चलचित्रमा सलोन, सारा, प्रियंकाको अलवा विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । सुरेश अधिकारीको सोलो शब्द र संगीत रहने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायांकन रहने छ । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुब्रत आफैंले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

प्रतिक्रिया