अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५० | Colorodo: 12:05

नेपालको समृद्धि एनआरएनको लक्ष्य हो- अध्यक्ष पौडेल

कृष्णराज खनाल -वोस्टन, ३ फेव्रुअरी । २०७४ माघ २१ गते २:२० मा प्रकाशित

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले अमेरिकालगायत विदेशमा रहेका नेपालीलाई नेपालसँग निरन्तर जोड्नका लागि नै एनआरएनको गठन भएको बताउनु भएको छ ।

डा. पौडेलले एनआरएनले तीन करोड नेपालीलाई जोड्न सेतूको काम गरेको जनाउँदै विदेशमा रहेका नेपालीको हितमा नेपाल सरकारसँग मिलेर काम गरिरहेको र आगामी दिनमा पनि काम गर्न आफूहरु तत्पर रहेको जानकारी पनि दिनुभयो । उहाँले नेपाल सरकारसँग भूकम्प पीडितका लागि सहयोग गरेको र अन्य लगानीका क्षेत्रमा पनि प्रत्यक्ष र परोक्ष रुपमा आफूहरुले काम गरिरहेको जानकारी दिनुभयो ।

एनआरएन म्यासाच्युसेट्स च्याप्टरको साधारण सभा तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि डा. पौडेलले नेपालको सम्मृद्धि नै एनआरएनको लक्ष्य भएको पनि जनाउनुभयो । एक प्रश्नको उत्तरमा उहाँले गत निर्वाचनमा कुनै अनियमितता नभएको जानकारी दिँदै प्राविधिक गडबडीका कारण त्यस्तो पर्न गएको हो भन्नुभयो ।

कार्यक्रममा एनआरएनकी वोर्ड अफ डाइरेक्टर तृष्णा शर्माले एनआरएनको जिम्मेवारी बढ्दै गएको जानकारी दिँदै आफूले केन्द्र र च्याप्टरलाई समन्वय गर्न पुलको रुपमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

सो अवसरमा एनआरएन अमेरिकाका केन्द्रीय उपाध्यक्ष रामकुमार सुवेदीले टीपीएसका बारेमा कूटनीतिक नियोगसँग सहकार्य र अमेरिकी सरकारसँग सम्वाद भइरहेको जानकारी दिँदै यो समस्या सुल्झने संकेत गर्नुभयो ।

त्यसैगरी ग्रेटर वोस्टन नेपलिज सोसाइटीका अध्यक्ष विष्णुमणि आचार्यले एनआरएन छाता संगठन भएकोले वर्तमान परिप्रेक्ष्यमा यसको उपादेयता अझ बढेको जानकारी दिनुभयो भने एनआरएनका पूर्व सल्लाहकार भुवन गुरुंगले एनआरएनले गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

सो कार्यक्रममा एनआरएनका पूर्व सल्लाहकार डा. रुद्र अर्याल र एनआरएन अमेरिका कनेक्टिकट च्याप्टरका अध्यक्ष घनश्याम खड्काले एनआरएनले खेल्नुपर्ने भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।

त्यस अवसरमा सीपीए पुष्कर न्यौपानेले अमेरिकी ट्याक्सका बारेमा जानकारी दिनुभएको थियो ।

एनआरएन म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष विष्णु कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव समन्त श्रीरत्न वज्राचार्यले च्याप्टरको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।

केही समय अघि गठिन म्यासाच्युसेट्स च्याप्टरमा अध्यक्ष कार्की, उपाध्यक्ष काफ्ले र महासचिव बजाचार्यका अतिरिक्त कोषाध्यक्ष चन्द्रबहादुर मल्ल र सदस्यमा खगेन्द्रराज रेग्मी र चन्द्रदेव मण्डल रहनुभएको छ ।

च्याप्टरमा थप सदस्य थप्ने निर्णय भए बमोजिम अखण्ड श्रेष्ठ, यम पौडेल, किरणकुमार श्रेष्ठ, रञ्जन थापा, सरिता न्यौपाने र अमूल्य अधिकारीलाई मनोनयन गरिएको छ । समितिको सल्लाहकारमा विजय शर्मा र भुवन गुरुंग रहनुभएको छ ।

च्याप्टरले आगामी दिनमा गर्ने केही कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया