अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

प्रहरीको कुटाईबाट घाइते राज परियारको घटना सम्बन्धमा आयोगमा आकस्मिक छलफल

घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न आयोगद्वारा नेपाल सरकारलाई आदेश

बिआरटीनेपाल २०७४ माघ १९ गते ५:१० मा प्रकाशित

प्रहरीको कुटाईका कारण घाइते भएका राज परियारको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा आकस्मिक छलफल भएको छ । शुक्रबार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै सो घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न आयोगद्वारा नेपाल सरकारलाई आदेश दिएको हो ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ :- काठमाण्डौं महानगरपालिका–१७ मा डेरा गरी बस्ने राज परियारलाई एकै घरमा डेरा गरी बस्ने निरु नेपालीसँग भएको झगडाको विषयलाई लिएर महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएका प्रहरीले मिति २०७४।१०।८ गते निजको डेराबाटै पक्राउ गरी कुटपीट गर्दा घाइते भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भई आयोगले घटनाको प्रारम्भिक अनुसन्धान गरेको छ ।

आयोगको प्रारम्भिक अनुसन्धानको क्रममा निजलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेका कारण घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको, निजको स्पाइनल इन्ज्युरी भै शरीरको कम्मरमुनीका भागहरू नचल्ने एवं निजको आर्थिक अवस्था कमजोर रहेको तथ्य प्राप्त भएको छ । यस सम्बन्धमा आजै आयोगमा आकस्मिक बैठक बसी राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ९(५) र ११ (२) बमोजिम नेपाल सरकारलाई घाइते व्यक्तिको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्र्ने गरी व्यवस्था मिलाउन तथा सोको जानकारी आयोगलाई दिन आदेश सहित पत्राचार गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू