अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

नयाँ शरणार्थी प्राथमिकता दिने USCIS को घोषणा: पुराना आवेदनलाई पछि हेरिने

बिआरटीनेपाल २०७४ माघ १८ गते ७:३२ मा प्रकाशित

युएस सिटिजनशीप एण्ड इमिग्रेसन सर्भिसेज (युएससिआइएस) ले नयाँ असाइलम (शरणार्थी) आवेदनलाई प्राथमिकता दिने घोषणा गरेको छ ।  शरणार्थी आवेदन समस्याका रुपमा आकाशिएपछि त्यसलाई सम्बोधन गर्न युएससिआइएसले बिहीबार त्यस्तो घोषणा गरेको हो । युएससिआइएस वैध आप्रवासन हेर्ने निकाय हो ।  त्यसमा शरणार्थी पनि पर्छन् ।

बिहिबार सम्म युएससिआइएसमा सुनुवाइको पालो पर्खेर बसेका शरणार्थी आवेदनको संख्या ३ लाख ११ हजार पुगेको छ । यसबाट शरणार्थी आवेदन प्रणाली धोखाधडी र दुरुपयोगको शिकार हुनसक्ने खतरा बढेको युएससिआइएसले जनाएको छ । युएससिआइएसका अनुसार ५ वर्ष यता शरणार्थी आवेदन थन्किने क्रम १ हजार ७ सय प्रतिशतले बढेको छ भने आवेदन संख्या ३ गुणा भन्दा धरै बढेको छ ।

यो समस्या सम्बोधन गर्न युएससिआइएसले ३ वटा रणनीति अपनाएको छ । त्यसअनुसार, अन्तर्वार्ताका लागि मिति तोकिएका आवेदनमा आवेदकले पुनः अन्तवार्ताको मिति तय गर्नुपर्ने छ । युएससिआइएसले २१ दिन वा त्यसभन्दा कम समयसम्म नहेरिएका आवेदनलाई प्राथमिकता दिनेछ । त्यस्तै, २१ दिन नाघेका आवेदनमा पनि अन्तवार्ताका नयाँ आवेदकले प्राथमिकता पाउने छन् । पुराना आवेदनलाई पछि हेरिने छ ।

युएससिआइएसले एफर्मेटिभ बुलेटिन प्रकाशन पनि बन्द गर्ने घोषणा गरेको छ । ‘समयमै आवेदन प्रशोधन नहुनु अवैधानिक रुपमा शरण माग्नेको हीत विपरित छ,’ युएससिआइएसका निर्देशक एल फ्रान्सिस सिस्नाले भने, ‘शरणार्थी आवेदन थन्किँदा त्यसको दुरुपयोग हुनसक्छ जसका कारण राष्ट्रिय सुरक्षा र असाइलम सिस्टमको इमानदारिता कमजोर बन्न सक्छ ।’

शरणार्थी आवेदनलाई प्राथमिकता दिने विधि पहिलो पटक सन् १९९५ मा स्थापना भएको थियो । त्यो प्रणालीले सन् २०१४ सम्म २० वर्ष काम ग¥यो । यो प्रणालीबाट आवेदन थन्किएपछि शरणार्थी आवेदकले त्यसलाई काम गर्ने अनुमतिपत्र प्राप्त गर्ने माध्यम बनाए । परिवर्तित विधिले परिचयको भोका, धोकाघडी र शरणार्थी आवेदनको झुटो दाबीलाई अन्तर्वार्ताका माध्यमबाट छिटो हटाउने छ ।

युएससिआइएसले अन्तर्वार्ताको मिति तय गर्न एफर्मेटिभ असाइलम इन्टरभ्यू स्केजुअलिङ पेजमा जान आह्वान गरेको छ । साथै थप सूचनाका लागि युएससिआइएस डट जिओभीमा जान, (एटयुएससिआइएस) ट्वीटर पेज फलो गर्न, युट्युव (युएससिआइएस) हेर्न वा फेसबुक (युएससिआइएस) हेर्न आह्वान गरेको छ ।

प्रतिक्रिया