अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

बलात्कारका घटनाको अनुसन्धान र कानूनी कारवाही प्रभावकारी बनाउन NHRC को आग्रह

बिआरटीनेपाल २०७४ माघ १७ गते ७:३० मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारका घटनाहरूको सूक्ष्मतम अनुसन्धान र कानूनी कार्यबाही प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । बुधबार आयोगले प्रेश विज्ञप्ती जारी गर्दै यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको उजुरी दर्ता, छानविन र तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडितहरू न्यायबाट वञ्चित भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सम्बन्धित पक्षलाई यस्तो आग्रह गरेको हो ।

आगोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ –‘नेपालको संविधानले यौनजन्य हिंसालाई कानुन बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै यी घटनाबाट पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेको छ । तर व्यहारमा सामूहिक बलात्कारको घटना समेतलाई सामाजिक वा पारिवारीक डर, धम्की र आर्थिक प्रलोभन देखाई मेलमिलापमा टुङ्ग्याउने गरेको पाइएको छ । बलात्कार जस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाहरूको सम्बन्धमा नेपाल प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गर्ने, उजुरी दर्ता भएपनि घटनाहरूको अनुसन्धान प्रभावकारी नहुने जस्तो कारणबाट घटनालाई कमजोर बनाउने, यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्याको अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिलाहरू न्यायबाट वञ्चित हुन पुगेको पाइएको छ । नागरिकको मानव अधिकारको रक्षार्थ स्थापना भएका निकायबाटै यस प्रकारका कार्यहरू हुनु कदाचित उचित मान्न सकिन्न । यस्तो कार्य मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुन विपरित पनि हो । यसै सन्दर्भमा काठमाण्डौंको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार भनिएको घटनाको सम्बन्धमा आयोगले आजै एक अनुसन्धान टोली गठन गरी कार्य शुरू गरेको छ ।

यौनजन्य हिंसा तथा बलात्कारका घटनासँग सम्बन्धित उजुरीहरूको दर्ता, छानविन तथा तथ्य संकलन कार्यलाई प्रभावकारी बनाई नागरिकको मानव अधिकारको सम्मान र रक्षा गर्न एवं हिंसा पीडित नागरिकको न्यायमा पहुँच पुर्याउन आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू