अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

विपद र स्वास्थ्य सम्बन्धी समीक्षा र योजना बैठक सम्पन्न

दिब्य राज पौडेल २०७४ माघ १७ गते ६:०४ मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को विपद् व्यवस्थापनका नियमित र परियोजनागत गतिविधिबाट गएको एकबर्षमा मा ४ लाख ६५ हजार ८ सय ९४ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै ५० जिल्लामा नियमित तथा परियोजनागत स्वास्थ्य गतिविधिहरू सञ्चालन भएका छन् ।

हिजाे म‌गलबार बेलुकी चितवनमा सम्पन्न भएको नेरेसोमार्फत् सञ्चालन भएका विपद् व्यवस्थापन र स्वास्थ्य सेवा गतिविधिहरूको २ दिने वार्षिक समीक्षा बैठकको क्रममा यो जानकारी दिइएको हो ।

समीक्षाको क्रममा नेरेसोबाट विभिन्न विपद् व्यवस्थापनको क्षेत्रमा सञ्चालित गतिविधिको बारेमा निर्देशक धर्मराज पाण्डेयले समग्र प्रस्तुति गर्दै देशका ३३ जिल्लाका ४४ वटा गाउँपालिका र ५१ वटा नगरपालिकामा विपद पूर्वतयारीका परियोजनाहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो । त्यस्तै एम्बुलेन्स, रक्तसञ्चार, आँखा सेवा तथा आपत्कालीन स्वास्थ्य सेवा देशका अधिकांश क्षेत्रमा स्वास्थ्य गतिविधिहरू रेडक्रसले सञ्चालन भइरहेको स्वास्थ्य विभागका निर्देशक मोना अर्यालले प्रस्तुतीकरणको सिलसिलामा बताउनु भयो ।

समीक्षा र योजनाको सिलसिलामा बिपद् तथा स्वास्थ्यक्षेत्रमा सञ्चालित विभिन्न परियोजनाहरूको छुट्टाछुट्टै सेसन र छलफल तथा ग्यालरी वाक मार्फत् जानकारी गराइ समुहगत छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल सरकारका गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन केन्द्रका डा. दयाराम श्रेष्ठले भरखरै तयार भएको विपद् व्यवस्थापनको नयाँ ऐन र त्यसको अवधारणाको बारेमा, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सीता दुवाडीले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको बारेमा र नेपाली सेनाका विपद व्यवस्थापन निर्देशनालयको तर्फबाट जर्नेल जितबहादुर गुरुङले सिभिल मिलिटरी सम्बन्धको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । यसका साथै नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडा र सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक नर बहादुर रावतले आआफ्नो सङ्गठनमा विपद् व्यवस्थापनका क्षेत्रमा भएका गतिविधिहरू र अनुभव प्रस्तुत गर्नुभएको थियो ।

नेरेसोका अध्यक्ष सञ्जीव थापाले कार्यक्रमको समापन गर्दै नेपालको प्रायजसो सवैखालका विपद् तथा स्वास्थ्य समस्यामा तत्काल सेवाको लागि रेडक्रसका स्वयँसेवकहरु अग्रपंतिमा रहीआएको बताउनुभयो । उहाँले भन्नुभयो ः “विपद् व्यवस्थापनमा नेपाल सरकार लगायत सबै सरोकारवाला सँग सँगसँगै छ । अहिले मुलुकभर विशेष तालिमप्राप्त १४ हजार सातसय स्वयँसेवकहरु अग्रपङ्क्तिमा रही प्रथम रेस्पोन्डरको रूपमा कार्य गरिरहेका छन् र यसमा अझ क्षमता बढाइने छ ।”

समीक्षा कार्यक्रममा सरकारी निकाय, यूएन, विभिन्न देशका रेडक्रसका प्रतिनिधिहरू, रेडक्रसको अन्तर्राष्ट्रिय समिति –आइसीआरसी, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ, नेरेसोको केन्द्रीय नेतृत्व, विभिन्न जिल्लाहरूका रेडक्रस शाखाहरूका प्रतिनिधि तथा कर्मचारीहरू गरी १४० जनाको सहभागिता रहेको थियो ।

नेरेसो स्वास्थ्य सम्बन्धी केन्द्रीय समितिका सभापति उत्तम जोशीले स्वागत गर्नुभएको कार्यक्रमको समुदघाटन सत्रमा नेरेसोका महामन्त्री देवरत्न धाख्वाले जीवन रक्षा र स्वास्थ्य सुरक्षाको अवधारणाबाट नेरेसोका गतिविधिहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो । समुद्घाटन सत्रमा अष्ट्रेलियन रेडक्रसका प्रतिनिधि मुकेश सीँ, आइसीआरसीका प्रतिनिधि आन्द्रे पाके (ब्लमचभ एबत्रगभत), नेपाल सरकारको तर्फबाट गृह मन्त्रालय राष्ट्रिय आपत्कालीन केन्द्रका डा. दयाराम श्रेष्ठले नेरेसोका गतिविधिहरूको समीक्षात्मक सम्बोधन गर्नुभएको थियो ।

श्रेष्ठले भन्नुभयो, विपद व्यवस्थापन र स्वास्थ्य सेवा एक अर्काका परिपुरक हुन् । नेपाल सरकारले अघिल्लो महिना विपद व्यवस्थापनको लागि नयाँ ऐन ल्याएको र सो ऐनले रेडक्रस, मानवीय संस्था लगायत निजी क्षेत्रको सहभागिता अपेक्षा गरेको छ ।

नेरेसो विपद् व्यवस्थापन समितिका सभापति मनोज थापाको सभापतित्वमा सञ्चालित सो समीक्षा बैठकमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले चितवनमा बाढी, पहिरो, आगलागी, भूकम्प, सडक दुर्घटना, वन्यजन्तुको आक्रमण जस्ता विपद्को उच्च जोखिम क्षेत्रमा रहेकोले बृहत् सहभागितामा राष्ट्रिय स्तरको समीक्षा र योजना बैठक चितवनमा आयोजना हुनु सान्दर्भिक रहेको बताउनुभयो ।

उत्कृष्ट स्वयंसेवकलाई सम्मान
प्राथमिक उपचारलाई घरदैलोमा पुर्‍याउन सन् २०१७ मा सक्रिय रहनुभएका स्वयंसेवक मध्ये चितवनका निता ढकालले उत्कृष्ट प्राथमिक उपचार स्वयँसेक पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँलाई नेरेसोका अध्यक्ष सन्ज्ीव थापाले ट्रफि, प्रमाणपत्र सहित कार्यक्रम स्थलमा सम्मान गर्नुभयो ।

सन् २०१८ को लागि प्राथमिकताः
बिपद् जोखिम न्यूनीकरण र स्वास्थ्य सेवामा समुदायको क्षमता अभिबृद्धि हुने गतिविधिमा नै आगामी दिनको लागि पहिलो प्राथमिकता रहने बताइएको छ । बढ्दो शहरीकरण, बसाईँसराई र तापमान वृद्धि ले ल्याएका र ल्याउन सक्ने विपद् र सङ्कटलाई गतिविधिमार्फत् सम्बोधन गर्दै जाने, सरकार लगायत अन्य एजेन्सीहरूसँगको सहकार्य बढाउने, नगद सहयोगको क्षमता अभिबृद्धि गर्ने, समुदायमा अग्रपंतिमा काम गर्ने दक्ष जनशक्तिलाई क्षमतावान बनाउने र लाभान्वित वर्गको मर्यादा, पहुँच, सहभागिता र सुरक्षा अभिबृद्धि गर्ने आगामी वर्षको प्राथमिकतामा राखिएको छ । कार्यक्रमको निचोड प्रस्तुत गर्दै नेरेसोका का.मु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीले भन्नुभयो ः जिल्ला जिल्लामा रेडक्रसमार्फत् गरिएका गतिविधिहरूको प्रतिवेदन र व्यवस्थापन सूचना प्रणालीलाई सुदृढ बनाइने छ । मुलुकको सङ्घीय प्रणाली अनुसार परियोजनाहरूको कार्यक्षेत्रमा पुनर्विचार गरिने र स्रोत परिचालनमा स्थानीय निकायहरूसँगको सहकार्य र पैरवी बढाइने छ ।

समापन कार्यक्रममा सहभागीको तर्फबाट डा. कुलेश थापाले ज्ञान र अवधारणा बनाउन समीक्षा बैठक एउटा उत्कृष्ट थलो अनुभव भएको छ ।  नेरेसोका उपमहामन्त्री हरि प्रसाद न्यौपानेले समुदाय र साझेदार प्रति रेडक्रसको जिम्मेवारी थपिएको बताउनुभयो ।  त्यस्ता नेपाल रेडक्रस सोसाइटीले सामुदायिक एकीकृत स्वास्थ्य कार्यक्रम, आपत्कालीन तथा सामान्य अवस्थामा स्वास्थ्य पूर्वाधार विकास तथा नेरेसोको स्वास्थ्य सेवा सञ्चालनमा क्षमता अभिबृद्धितर्फ सन् २०१८ का स्वास्थ्य क्षेत्रका गतिविधि लक्षित हुने बताइएको छ । साथै, सडक सुरक्षा, स्वास्थ्य चेतना जस्ता विषय आगामी दिनमा रेडक्रसका मूल गतिविधिकै रूपमा अगाडि बढाइने सहमति गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू