अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

बिआरटीनेपाल २०७४ माघ १५ गते २०:१७ मा प्रकाशित

पथरी, मोरङ, मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ ।

सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । उहाँको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध गराउने बताउनुभयो ।

मालतीको जन्म २०५६ भदौ १८ गते भएको हो । २०६२ जेठ ३० मा उनले जन्मदर्ता बनाएकी हुन् । बुबा रमेशप्रसाद मुरर र आमा मीनादेवी मुरर दुवैको जन्मसिद्ध नागरिकता छ । तर मालतीको नागरिकता छैन ।

सरकारले केही समयका लागि जन्मसिद्ध नागरिकता वितरण कार्य रोकेको छ । जन्मसिद्ध नागरिकता वितरण प्रक्रिया सुचारु भएपछि मालतीलाई नागरिकता उपलब्ध गराउने प्रमुख ढकालले बताउनुभयो ।

उहाँले जबसम्म मालतीको नागरिकता बन्दैन तबसम्म नगरपालिकाको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिकरुपमा रु दुई हजार उपलब्ध गराउने बताउनुभयो ।

तीन सन्तानका पिता रमेशप्रसाद मुररको घर सुन्दर हरैँचा–४ को सुकुम्वासी बस्तीमा छ । खान बस्नको समस्या भएका कारण छोरी मालतीको उचाइ बढाउने गरी औषधोपचार र शिक्षाको व्यवस्था गर्न नसकिएको मुररले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू